सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

महिलालाई राहत दिन स्यानटरी प्याडमा भन्सार छुटः अर्थमन्त्री शर्मा

काठमाडौँ-महिलावर्गलाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष ०७९–८० को बजेटले वायर, घिउतेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका बारेमा शर्माले छलफलमा महिलालाई राहत मिल्ने गरी भन्सार छुट दिएको बताएका हुन् ।

उनले छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको पाए समाधान निकाल्न तयार रहेको पनि बताए । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उनको ठहर छ ।

'बजेटमार्फत हाम्रो उद्देश्यले व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन’ उनले भने, ‘हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।’

बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको उहाँले प्रष्ट पारे । ‘बजेट तपाईहरु (व्यवसायी) का लागि गरेको हो । देशका लागि गरेको हो’ अर्थमन्त्री शर्माले थपे, ‘हामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेको हो ।’

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नबिन रिजालले वायर, घिउतेल तथा स्यानीटरी उद्योगमा बजेटले पारेको प्रभावका बिषयमा छोटो प्रस्तुति दिएका थिए । उनले सरकारी नीति आउँदा आत्मसाथ गर्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । ‘हामी (व्यवसायी) लाई पनि पोलिसीले साथ दिनुस् । हामीले पनि बजेट आउँदा मुक्तकण्ठले प्रशंसाा गर्ने स्थिति आओस्’ उनले भने ।