आयात निरुत्साहनका बाबजुद एकै महिनामा झन्डै ३५ अर्बले बढ्यो चालु खाता घाटा

काठमाडौँ– सरकारले लागू गरेको आयात निरुत्साहीत गर्ने नीतिगत व्यवस्थाका बाबजुद पनि चालु खाता घाटा झनै भयावह बन्दै गएको छ । चैतको तुलनामा वैशाख महिनामा चालु खाता घाटा ३४ अर्ब ६५ करोड रुपैयाँले बढेर ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको समष्टिगत आर्थिक तथा वित्तीय स्थितिसम्बन्धि परिदृश्य अनुसार, चालु खाता घाटा नै कुल गार्हस्थ उत्पादनको ११.२८ प्रतिशत पुगेको छ । यो भयावह स्थिति हो । चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा अर्थतन्त्र कति मजबुत छ भन्ने मापन गर्ने प्रबल सूचक मानिन्छ । गत साउनदेखि वैशाखसम्म नेपाल भित्रिएको भन्दा नेपालबाट बाहिरिएको रकम ५ खर्ब ४७ अर्ब रुपैयाँले बढी छ ।
चालु खाता, पुँजी खाता र वित्तीय खाताले भने समग्र शोधनान्तरको स्थितिलाई प्रतिबिम्बित गर्छ । पुँजीखातामा भने वैदेशिक लगानी, विदेशी ऋण तथा अनुदान, वाणिज्य बैंकहरूले विदेशी मुद्रामा विदेशमा गरेको लगानी तथा नेपालका बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले विदेशबाट ल्याएको ऋणसमेत समावेश हुन्छ । पुँजी खाताको दायित्व दीर्घकालीन हुनेहुँदा शोधनान्तर स्थिति बचत भएपनि दीर्घकालको दायित्व समेत त्यसमा समावेश भएको हुन्छ ।
चालु आर्थिक वर्षको १० महिना महिनामा आयातको वृद्धिदर २८ प्रतिशत छ । यो अवधिमा नेपालले १६ खर्ब ४ अर्बको आयात गरेको छ । निर्यात झन्डै ६० प्रतिशतले बढे पनि आधार (जग) नै सानो भएकाले १ खर्ब ७३ अर्ब रुपैयाँको निर्यात भएको छ । व्यापारघाटा गत वर्षको भन्दा झन्डै २५ प्रतिशतले बढेर १४ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाली मुद्राको अमेरिकी डलरसँग तीव्र अवमूल्यनका कारण रेमिट्यान्स बढेको देखिएपनि अमेरिकी डलरमा भने गत वर्षको साउनदेखि वैशाखसम्म आप्रवाह भएको रेमिट्यान्स भन्दा १.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १० महिनामा ६ अर्ब ८७ करोड डलर रेमिट्यान्स भित्रिएकोमा यो वर्ष सोही अवधिमा ६ अर्ब ७६ करोड डलर रेमिट्यान्स भित्रिएको छ ।
साउनयता विदेशी मुद्राको सञ्चिति पनि तीव्र रूपमा घटेको छ । विदेशी मुद्रा सञ्चिति साउनदेखि वैशाखसम्म २१ प्रतिशतले घटेर जम्मा ९ अर्ब २७ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिति रहेको छ । जसले साढे ६ महिनाको मात्र आयात धान्न सकिन्छ ।
मूल्य वृद्धि भने आकाशिएको छ । उपभोक्ता मूल्यवृद्धि ७.८७ प्रतिशत रहेको छ । दाल, दूध तथा अन्डा, घिउ, तेल, फलफूल, यातायात भाडा र शिक्षा शूल्क १० प्रतिशतभन्दा धेरैले बढेको छ । घिउ, तेलमा २४.८६ प्रतिशत र यातायात भाडामा २१.८ प्रतिशत मूल्यवृद्धि भएको छ ।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया