सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

नेपाल दूरसञ्‍चार प्राधिकरणले भन्यो : अनुमतिपत्र बिना इन्टरनेट सेवा वितरण नगर्नू

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र बिना इन्टरनेट सेवा सञ्चालन तथा वितरण नगराउन इन्टरनेट सेवाप्रदायक कम्पनीलाई अनुरोध गरेको छ । सामाजिक सञ्जालमा अनुमति पत्र प्राप्त नगरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवाको सञ्चालन/वितरण सम्बन्धमा विज्ञापन सार्वजनिक भएकाले प्राधिकरणले आपत्ति जनाएको छ ।

त्यस्तै अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा सञ्चालन नगर्नु/नगराउनु हुन प्राधिकरणले सूचनामा बताएको छ । अनुमतिपत्र बिना इन्टरनेट सेवा सञ्चालन भएमा प्रचलित कानुन अनुसार कारबाही हुने समेत जनाएको छ ।

दूरसञ्चार ऐन २०५३ को दफा २१ कसैले अनुमतिपत्र बिना इन्टरनेट सेवा सञ्चालन गर्न नपाइने व्यवस्था छ ।

प्राधिकरणले भनेको छ, 'सेवाग्राहीलाई भ्रममा नपर्न र नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी गैरकानूनी रुपमा कसैले इन्टरनेट सेवा सञ्चालन वा वितरण गरेमा दुरसञ्चार प्राधिकरणलाई जानकारी गराइदिनु होला ।'