शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

अनुमति नलिइ स्याटेलाइट इन्टरनेट चलाए कारबाही : दूरसञ्चार प्राधिकरण

सांकेतिक तस्बिर

काठमाडौँ - नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा अनुमति नलिइ इन्टरनेट सेवा सञ्चालन भएको भन्दै कारबाहीको चेतावनी दिएको छ । प्राधिकरणका अनुसार हाल स्याटेलाइट प्रविधिबाट इन्टरनेट सञ्चालन  तथा वितरण भएको भन्दै बन्द गर्न सूचित गरेको हो ।

प्राधिकरणका अनुसार  'दूरसञ्चार ऐन, २०५३ को दफा २१ मा कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा संचालन गर्न नपाइने कानुनी व्यवस्था रहेको छ। हाल सामाजिक सञ्जालहरूमा अनुमतिपत्र प्राप्त नगरी विपरित स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवाको संचालन/वितरण सम्बन्धमा विज्ञापन हुने गरेको भन्ने बुझिन आएकोले कोही कसैले पनि अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन नगर्नु/नगराउनु हुन सूचित गरिएको जनाएको छ।

अनुमतिपत्र प्राप्त नगरी इन्टरनेट सेवा संचालन गर्ने/गराउने जस्ता गैरकानूनी कार्य गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा जानकारी गराउँदै यो सार्वजनिक सूचना प्रकाशित गरिएको जनाएको छ।

अत: सेवाग्राहीहरूलाई भ्रममा नपर्न र नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त नगरी गैरकानूनी रुपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरको कसैलाई थाहा/जानकारी भएमा प्राधिकरणमा खवर गर्न समेत अनुरोध गरेको छ ।