आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

बढुवा भएका पाँच एआईजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ - नेपाल प्रहरीका पाँच जना अतिरिक्त महानिरीक्षक (एआईजी)लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकबाट डीआईजीबाट बढुवा भएका पाँच जना एआईजीलाई प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।   

बढुवा भएका एआईजी उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृत नवीन कार्ययोजनाका साथ अगाडि बढ्न निर्देशन दिए । प्रहरी संगठनमा वरियता र कार्यक्षमता लगायतका विभागीय मापदण्ड अनुसार निष्पक्ष रुपमा पदोन्नति हुने उल्लेख गर्दै उनले प्रहरी कार्यलाई अझै तदारुकताका साथ संचालन गर्न प्रहरी कर्मचारीहरु सदैव तल्लीन हुने विश्वास व्यक्त गरे ।

प्रहरी महानिरीक्षक सिंहले हाल भइरहेका कामलाई निरन्तरता दिएर सुधारका पक्षलाई समेत समेट्दै उत्कृष्ट काम गर्ने विश्वास लिएको चर्चा गर्दै आगामी दिनको चुनौती समाना गर्न स्थानीय चुनावमा देखाएको व्यावसायिकतालाई कायम राख्दै क्रियाशिल हुन निर्देशन दिए । मनसुन नजिकै आएको अवस्थामा विपद् व्यवस्थापनमा पूर्व तयारीका साथ लाग्नुपर्नेमा उनले जोड दिए । 

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।