टिआइएमा किन भइरहन्छ बारम्बार हवाई ट्राफिक जाम ?
काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) देशको पुरानो ऐतिहासिक विमानस्थल हो । टिआइए सञ्चालनमा आएको करिब ७० वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हालै सञ्चालनमा आएको छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारीमा छ ।
मुलुकभित्र तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल भएका छन् । करिब २८ वर्षदेखि चर्चामा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बहस पनि जारी छ । तर देशको राजधानीमा रहेको पुरानो ऐतिहासिक टिआइए पूर्ण क्षमतामा सञ्चालन हुँदा पनि हवाई यात्रुको चाप धान्न हम्मेसी छ । भूधरातलीय स्वरुप, मनसुनी प्रभाव तथा एयरलाइन्सको स्लट व्यवस्थापन प्रभावकारी नहुँदा टिआइएमा बारम्बार हवाई ट्राफिक जाम हुने गरेको पाइएको छ ।
अन्तर्राष्ट्रिय उडान डेढ घण्टासम्म आकाशमा फन्को लगाउने ‘होल्ड’ हुने गरेका छन् । अन्तर्राष्ट्रिय मात्र हैन आन्तरिक उडानमा पनि बेलाबेलामा होल्ड तथा जहाज अन्यन्त्र मोडिनु ‘डाइभर्ड’ हुने गरेका छन् । त्यसो त टिआइएमा बारम्बार दोहोरिने यो समस्या समाधानका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण, टिआइए नागरिक उड्डयन कार्यालय तथा सञ्चालित एयरलाइन्सले पहल नगरेका भने हैनन् । तर, टिआइएको समस्या जहाँ को तहीँ छ । सरोकारवाला विज्ञ विमानस्थल साँघुरो भएकाले विस्तार गर्ने योजना कार्यक्रम अघि बढाइरहेका छन् ।
कूल ९२ लाख यात्रु क्षमताको टिआइएको क्षमता अभिवृद्धि र एयर ट्राफिक कन्ट्रोल र स्लट व्यवस्थापनमा जुटिरहेकै देखिन्छ । तथापि, टिआइएमा जहाज होल्ड हुने र उडान समयावधि तलमाथि हुने समस्या निदान हुन सकेको छैन । अहिले हवाई ट्राफिक जामले जहाज होल्ड हुनाका साथै डाइभर्ड गर्नुपर्ने विमानस्थलको बाध्यता छ । यसमा विशेषगरी हवाई यात्रुले त्रसित र जोखिमपूर्ण हवाई यात्रा गर्नुपर्ने बाध्यता बढेको छ ।
किन टिआइएमा बारम्बार हवाई ट्राफिक जाम हुनेबारे प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम विशेषगरी मौसम र स्लट व्यवस्थापन प्रभावकारी हुन नसक्दा एयर ट्राफिक जाम हुने गरेको अनुभव सुनाउँछन् । `कहिलेकाहीँ डेढ घण्टासम्म हामी आफैँ पनि एयर ट्राफिक जाममा परेको अनुभव छ, मौसमी कारण हो भिजिबिलिटी कमजोर हुँदा जहाज अवतरण उडानमा समस्या हुने गर्दछ ।`
मनसुनको समयमा टिआइएमा बढी जहाज होल्ड हुने गरेका छन् । विदेशी एयरलाइन्स पनि सहज समयमा मात्रै उडान भर्न चाहने अर्थात् दिउँसोको समय उनीहरुको रोजाइ पर्ने भएकाले पनि स्लट व्यवस्थापनमा चुनौती देखिएको पूर्वमहानिर्देशक गौतमको भनाइ छ । आन्तरिक उडानमा पनि एयरलाइन्स प्रायः एकै समयमा स्लट लिने भएकाले उडान चाप हुने बताइन्छ । प्राधिकरणले टिआइए २४ घण्टा र आन्तरिक उडान १८ घण्टा अर्थात् आन्तरिक उडान पनि बिहान ५ बजेदेखि राति १२ बजेसम्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।
टिआइएको हालको दुवैतर्फको टर्मिनल भवन साँघुरो रहेको र कतिपय प्राविधिक उपकरण व्यवस्थापन हुन नसक्दा पनि हवाई उडान व्यवस्थापनमा समस्या उत्पन्न भइरहेको छ । वायुसेवा सञ्चालक सङ्घ नेपालका प्रवक्ता योगराज कँडेल शर्मा पनि मौसम खराबीका साथै स्लट व्यवस्थापन राम्रो नभएकाले हवाई ट्राफिक जाम बढेको बताउँछन् । उनले भने, `विमानस्थलको स्लट क्यापासिटी कम छ, जहाज थपिइरहेका छन् तर विमानस्थल विस्तार भएको छैन, एक मात्रै धावनमार्गमा सबै जहाज एक समय उडान भर्न चाहन्छन् यसले पनि चाप बढेको देखिन्छ ।` मौसमी कारण पनि उडान तालिकाअनुरुप जहाज नउड्दा हवाई चाप बढाएको छ ।
त्यस्तै आइएफआर भिजिबिलिटीको मापदण्डअनुरुप एयरलाइन्सले उडान गर्ने भएकाले पनि ट्राफिक जाम हुने गरेको छ । क्षणभरमै मौसम परिवर्तन हुने भौगोलिक अवस्थितिले पनि जहाज होल्ड हुनुपर्ने बाध्यता थपिएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि समय समयमा होल्ड हुने गरेका छन् । उनको अनुभवमा पछिल्लो साता पोखरा, भैरहवालगायत गन्तव्यबाट काठमाडौँ आउने जहाज ४५ मिनेटदेखि १ घण्टा ट्राफिक जाममा परेका थिए । आन्तरिक जहाज पनि आइएफआर उडानमा गएपछि स्वाभाविक रुपमा जाममा पर्ने गर्छन् ।
प्राधिकरणका पूर्वमहानिर्देशक गौतमको भनाइमा एक जहाज होल्ड हुनासाथ त्यसले आउँदै गरेका सबैजसो जहाज होल्ड हुन्छन् । जसले उडानको तयारीमा रहेका जहाजलाई पनि असर गर्छ । सोही कारण उडान ‘डिले’ हुने गरेको छ । एकमात्रै धावनमार्गमा प्यारालल ट्याक्सी वे पूर्ण नभएको तथा जहाजको सङ्ख्या बढिरहेकाले पनि हवाई ट्राफिक जाम हुने गरेको एयरलाइन्सहरुको बुझाइ छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा टिआइएमा दोस्रो टर्मिलन भवन बनाउने योजना समेटेको छ । विमानस्थलको क्षमता विस्तारका लागि विभिन्न आयोजना पनि सञ्चालन भइरहेका छन् । भैरहवा र पोखरा विमानस्थल सञ्चालनमा आउँदा हालको टिआइएको चाप व्यवस्थापन हुने भनिए पनि वार्षिक हवाई यात्रुवृद्धि दर हेर्दा हालको पूर्वाधारले नधान्ने प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बताउनुहुन्छ । उहाँले कूल ९२ लाख यात्रु क्षमताको टिआइएको ‘अकुपेन्सी फुल’ भइसकेको छ ।
नेपालको हवाई यात्रु सङ्ख्या हरेक वर्ष १० लाखका दरले बढिरहेको छ । ‘एयर ट्राफिक ग्रोथ’ वार्षिक १० प्रतिशतको छ । एसिया प्रशान्त क्षेत्र तथा छिमेकी मुलुक भारत र चीनको हवाई यात्रु सङ्ख्या पनि १० प्रतिशत हाराहारीको वृद्धि छ ।
अबका २० वर्षमा संसारको हवाई यात्रु सङ्ख्या हालको चार अर्बबाट दोब्बर वृद्धि भई आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । “नेपालले वार्षिक तीन करोड हवाई यात्रु धान्नुपर्ने बाध्यात्मक अवस्था छ, अर्को विमानस्थल बनाउन सकेनौँ भने अब हाम्रो आकास बन्द हुने अवस्थामा छ,”, महानिर्देशक अधिकारीले भन्नुभयो ।
हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित २० एयरलाइन्स तथा अन्तराष्ट्रिय उडानमा दुई नेपालीसहित २४ वटा एयरलाइन्सले उडान भर्दै आएका छन् ।
रासस

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया