सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

लिमिटेड कम्पनी खोल्दा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सेयर सर्वसाधरणलाई दिनुपर्ने चेम्बरको प्रस्ताव

फाइल फोटो

काठमाडौंँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा ५१ प्रतिशत संस्थापक र बाँकी ४९ प्रतिशत सेयर सर्वसाधारण लगानीकर्तालाई निकास गर्नुपर्ने बताएका छन् । अर्थमन्त्रालय अन्तर्गतको राजश्व परामर्श समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष मल्लले लिमिटेड कम्पनी स्थापना गर्दा सर्वसाधारण लगानीकर्तालाई पनि समावेश गर्नुपर्ने बताएका हुन् । यसले सर्वसाधरणलाई फाइदा पुग्ने र वित्तीय सन्तुलन पनि कायम गर्न सहयोग गर्ने अध्यक्ष मल्लको भनाइ छ ।

संस्थापक सेयर धनी र सर्वसाधरण लगानीकर्ताबीच ५१ र ४९ प्रतिशतको हिस्सा हुने गरि नीतिगत व्यवस्था गर्न उनले सरोकारवाला निकायसँग आग्रह गरे । लिमिटेड कम्पनी खोल्दा सर्वसाधारण लगानीकर्तालाई प्राथमिकतामा राख्ने गरि नीतिगत व्यवस्था हुन सके यसबाट सेवा क्षेत्र थप व्यवस्थित हुनेमा अध्यक्ष मल्लले जोड दिए । सेवा क्षेत्रमा सर्वसाधरणको लगानी आउन सक्यो भने यसले तरलता सिर्जना गर्ने अध्यक्ष मल्लले बताए ।

यस्तै अध्यक्ष मल्लले मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागु हुनुपर्ने बताए । आयातलाई व्यवस्थित गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले आम उपभोग्य र विलासिताका वस्तुहरुमा फरक फरक दर कामय गरिनुपर्नेमा जोड दिए । धेरै विद्युत खपत गर्ने ठूला उद्योगका लागि मात्रै सहुलियत दिने बजेटमा उल्लेखित व्यवस्था साना तथा घरेलु र कृषि जन्य उद्योगमा पनि लागू गर्न अध्यक्ष मल्लले आग्रह गरे ।