व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिइरहेका छौँ : शिक्षामन्त्री पौडेल

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालले औपचारिक र अनौपचारिकसँगै व्यावसायिक र प्राविधिक शिक्षामा पनि जोड दिएको बताएका छन् । थाइल्याण्डमा जारी एसियाका शिक्षा मन्त्रीहरूको सम्मेलनमा भाग लिँदै मन्त्री पौडेलले आजीवन सिकाइलाई औपचारिक र अनौपचारिक शिक्षाासँग जोड्नका लागि नेपाल प्रयासरत रहेको बताएका हुन् ।
देशको उच्च शिक्षालाई प्रविधिमैत्री र व्यावसायिक बनाउन सरकार लागिरहेको स्मरण गराउँदै मन्त्री पौडेलले प्रविधिमैत्री पाठ्यक्रम, शिक्षासँगको तालमेल, दक्ष जनशक्ति उत्पादन र समृद्धिलाई प्राथमिकतामा राखिएको जानकारी गराए। यसका लागि आन्तरिकको साथै बाह्य सहयोगको पनि आवश्यकता रहेको उनले बताए।
मन्त्री पौडेलले नेपालको शिक्षा क्षेत्रमा पनि कोभिड–१९ ले ठूलो प्रभाव पारेको र त्यसको तयारीमा नेपाल चुकेको स्वीकार गर्दै अहिले भने अनलाइन शिक्षणको अभ्यास थालेको बताए । भविष्यमा आइपर्नसक्ने त्यस्ता अवस्थालाई मध्यनजर गर्दै अबको शिक्षालाई प्रविधिमैत्री बनाउनतर्फ सरकार लागिरहेको उनको भनाइ छ ।
यस्तै, मन्त्री पौडेलले नेपालले आगामी जुलाईदेखि विद्यालय शिक्षा क्षेत्र योजना कार्यक्रम ल्याउन लागेको जानकारी दिए । सन् २०३० सम्म कायम रहने यो कार्यक्रममा अहिले भइरहेको शिक्षा प्रणालीलाई अझ सुदृढ बनाउँदै मुलधारका विवाद र विपद घटाउन मद्दत गर्ने उनले बताए ।
मन्त्री पौडेलले कोभिड–१९ ले नेपालको शिक्षा प्रणाली र नीति, शैक्षिक संरचना र विषयवस्तुलाई समायानुकल परिवर्तनको महसुस गराउनुपर्ने अवस्थामा ल्याएको बताए। यसका साथै समानताको नीति, अभिभावक र समुदायसँगको समन्वय, सुशासन, प्रविधिको उपयोग र शिक्षकको विकासको विषयमा पनि परिवर्तनको आवश्यकता रहेको उनको भनाइ छ ।
मन्त्री पौडेलले नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा सूचीकृत गरेको भन्दै ८ कक्षासम्म निःशुल्क शिक्षा उपलब्ध गराइरहेको पनि जानकारी गराए । साथै उनले केही समयभित्रै माध्यमिक शिक्षालाई निःशुल्क गर्न सरकारले तयारी गरेको बताए ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया