बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

बैतडीका बेपत्ता दुई युवक मृत फेला

फाइल फोटो

बैतडी - बेपत्ता रहेका दुई युवक आज मृत फेला परेका छन् । दशरथचन्द नगरपालिका–१ खिराका ३४ वर्षीय प्रेमसिंह रावत र सिगास गाउँपालिका–३ तल्लोइनारका १९ वर्षीय घनश्यामसिंह धामी मृत फेला परेका हुन् । 

जेठ १७ गतेदेखि बेपत्ता रहेका रावत आज स्थानीय मएडा जंगलमा मृत फेला परेका बैतडीका निमित्त प्रहरी प्रमुख, प्रहरी निरीक्षक मोहन साउँदले जानकारी दिए ।  रावतको शव सडेगलेको र भिरमा अड्किएको अवस्थामा भेटिएको हो । बोल्न नसक्ने र सुस्त मनस्थिति भएका रावतको लडेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । रावतको शव आफन्तको जिम्मा लगाइएको छ । 

यस्तै धामीको शव सिगास–३ कै सल्लेबगडमा छाप्रेको रूखमा झुन्डिएको अवस्थामा भेटिएको हो । उनको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । दुवै घटनाबारे अनुसन्धान भइरहेकाले जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस