आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

करेन्ट लागेर छुट्टाछुट्टै स्थानमा तीन जनाको मृत्यु

काठमाडौँ- छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । सप्तरी, धादिङ र सुनसरीमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । 

सप्तरीको शम्भुनाथ नगरपालिका–६ कठौना बस्ने ३५ वर्षीया नासिरा खातुनको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो । 

पंङ्खा चलाउनको लागि मल्टीपल्ग जोडने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकल कठौनामा उपचारको क्रममा मृत्यु भएको हो । 

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ छापडाँडा बस्ने १९ वर्षीय ठाकुर मगरको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको छ । 

मलेखुबाट ताल्तितर्फ बालुवा लिएर जाँदै गरेको बा.प्र.०३–००१ ख२११३ नम्बरको टिपरको बालुवा झार्न ढाला खोल्ने क्रममा विद्युतको तारबाट करेन्ट लाग्दा टिपरका सहचालक मगरको घटनास्थलमै मृत्यु भएको हो । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ जब्दी बस्ने ३७ वर्षीया सरस्वती श्रेष्ठको करेन्ट लागेर आइतबार राति मृत्यु भएको  छ । 

आफ्नै घर अगाडि कलमा पानीको मोटर चलाई नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।