जिल्ला प्रशासन कार्यालय बैतडीले रातिपनि सेवा दिने

बैतडी - जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा पनि सेवा दिन थालेको छ । सरकारले हप्ताको दुई दिन बिदा दिन थालेसँगै कार्यालयमा सेवाग्राहीको भीड बढ्न थालेपछि रातिको समयमा पनि सेवा दिन थालेको हो ।
पहिलाको तुलनामा आजभोलि नागरिकता लिनेको निकै भीड बढेकाले रातिसम्म पनि सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
दुई दिन बिदा भएपछि सेवाग्राहीको भीड बढ्दै गएको भारतीको भनाइ छ । उनले भने, `टाढा टाढाबाट सेवाका लागि आउने गरेका छन् । कार्यालय समय सकिए पनि अबेरसम्म पनि सेवा दिन थालेका छौँ ।`
जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने, राष्ट्रिय परिचयपत्र बनाउने, नाबालिग परिचयपत्र बनाउनेदेखि लिएर अन्य सेवाका लागि पुग्नेको भीड बढेपछि रातिको समयमा सेवा दिने गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।
सूचना अधिकारी भारतीले भने, `सेवाका लागि पुगेका नागरिकले सेवा प्राप्त गरेर मात्रै फर्किउन् भन्ने हाम्रो उद्देश्य हो । जसरी पनि सेवा प्राप्त होस् भनेर कार्यालय समयबाहेक पनि हामीले सेवा दिने गरेका छौँ । कुनै दिन राति १० बजेसम्म सेवा दिइएको छ ।`
जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समयमा सेवाग्राहीको भीड बढ्दै गएको छ । जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम भइरहेकाले नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
पुरानो नागरिकता भएमा राष्ट्रिय परिचयपत्रको सफ्टवेयरले नलिने भएकाले नागरिकताको प्रतिलिपि लिनेको सङ्ख्या पनि बढ्दै गएको छ । जिल्लाका सबै वडामा हाल राष्ट्रिय परिचयपत्रको विवरण संकलनको काम भइरहेको छ । हाल दैनिक नयाँ नागरिकता र प्रतिलिपि गरेर १५० सेवाग्राही प्रशासन कार्यालय आउने गरेका छन् ।
सरकारले दुई दिन बिदा दिने गरेको तथा हप्तामा पाँच दिन मात्रै कार्यालय सञ्चालन हुने भएकाले सेवाग्राहीको चाप बढ्दै गएको प्रशासन कार्यालयले जनाएको छ ।
रासस

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया