आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

नेपालगञ्जमा वीरेन्द्रको सालिक राख्न नदिएकोप्रति पूर्वराजा ज्ञानेन्द्रद्वारा दुःख व्यक्त

फाइल फोटो

काठमाडौं - नेपालगञ्जमा राजा वीरेन्द्र शाहको शालिक पुर्नस्थापना गर्ने क्रममा अवरोध पुर्‍याइएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले दु:ख व्यक्त गरेका छन् । 

सालिक स्थापनाको विषयमा नेपालगञ्जमा अप्रिय घटना भएको र त्यो अत्यन्त दुःखदायी भएको शाहको भनाइ छ । 'इतिहास उसै मेटिन्न र ऐतिहासिक व्यक्तिहरुद्धारा प्रस्तुत भएका स्मरणीय विषय विधि उसै मर्दैनन्  भन्ने कुरा सबैले बुझ्नुपर्दछ' शाहका सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

'नेपालगञ्जवासी जनताको तर्फबाट आज बाँके जिल्लाको नेपागञ्जस्थित वीरेन्द्रचोकमा स्वस्फूर्त सहभागितामा एक राट्रवादी र प्रजातन्त्रप्रेमी स्व. राजा वीरेन्द्रको सालिक पुर्नस्थापना गर्ने कार्यप्रति अवरोध पुर्‍याइएको घटनाबाट हामी स्तब्ध भएका छौं' विज्ञप्तिमा भनिएको छ, 'नेपालको गौरवमय इतिहासमा हाम्रा प्यारा आदरणीय दाजु वीरेन्द्रको गहनतम योगदान रहेको सर्वविदित नै छ । राष्ट्रिय जनमत संग्रह,  युगानुकुलको बहुदलीय संसदीय प्रणाली, क्षेत्रीय विकासको अवधारणा तथा शान्ति र समुन्नतिको गहन चिन्तन उहाँको स्मरणीय विषय हुन् ।'

जुनसुकै विचार, दर्शन, अबलम्बन गरिए पनि देशको निम्ति विशिष्ठ योगदान पुर्‍याउने महामानवहरुको स्मरण गर्ने परम्परा विश्वव्यापी रुपमा चलि आएको विज्ञप्तिमा भनिएको छ ।  'इतिहासको त्यस्तो आदर्श तथ्यलाई भुलेर मौसुफको सालिक स्थापनाको विषयमा नेपालगञ्जमा जुन प्रकारको अप्रिय घटना भयो , त्यो अत्यन्त दुःखदायी हो' विज्ञप्तिमा भनिएको छ । 

नेपालगञ्जमा आज वीरेन्द्रको सालिक राख्ने क्रममा झडप भएको थियो र प्रहरीले सालिक राख्न दिएको थिएन । त्यसक्रममा प्रहरीले हवाइ फायरसमेत गरेको थियो ।

न्युज कारखाना