आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

सिन्धुपाल्चोककाे सुकुटेमा भैरवकुण्ड स्प्रिङ्ग वाटरकाे उत्पादन सुरु

सिन्धुपाल्चोक। मुहानमै पानी प्रशोधन गरेर बजारमा लैजाने उद्धेश्यले स्थापना भएको भैरवकुण्ड स्प्रिङ्ग वाटर उत्पादन सुरु भएको छ । सिन्धुपाल्चोकको सुकुटे नजिकै स्थापना गरिएको यो कम्पनीले प्राकृतिक खनिजयुक्त पानी बजारमा ल्याउन थालेको हो ।

प्रशोधित मुलको पानीलाई मेशिनमार्फत भाँडोमा संकलन गरेर वजारमा लैजाने कम्पनीका सञ्चालक बिवश भण्डारीले जानकारी दिए । सिन्धुपाल्चोकको शुद्ध पानी आसपासका बजार र बनेपा,धुलिखेलका साथै काठमाण्डौंका उपभोक्तालाई खुवाउने उदेश्यले साँगाचोकगढी नगरपालिकाको अरनिको सडक नजिक यो पानी उद्योग स्थापना गरिएको छ ।

स्थानीय स्रोत साधनको सक्दो प्रयोग गरेर स्थानीय जनशक्तिकै प्रयोगमा पानी प्रशोधन गरेर वजारमा ल्याईएको भण्डारीले बताए । टाढादेखि बोतलमा धेरै दिनको पानी खान बाध्य रहेका उपभोक्तालाई यो उद्योगले ताजा पानी खुवाउने छ । मुहानमै स्थापना भएको उद्योग भएका कारण अरु पानी भन्दा यहाँबाट उत्पादित पानी स्वास्थ्यका लागि उपयुक्त हुने मापदण्डमा पर्दछ । सिन्धुपाल्चोककै युवा व्यवसायीकाे अगुवाईमा स्थापना भएको यो पानी उद्योगले स्थानीय स्रोत र स्थानीय जनशक्तिलाई प्राथमिकता दिएको सञ्चालक भण्डारीको भनाई छ ।