बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

म्यानमार दूतावासअगाडि अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौँ : नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले नेपालस्थित म्यानमार राजदूतावासअगाडि प्रदर्शन गरेको छ । म्यानमारमा सैन्य कू पछि भएका दमनविरुद्ध ज्ञापनपत्रसहित ललितपुरस्थित दूतावासअगाडि प्रदर्शन गरेको हो ।

दूतावासअगाडि उनीहरूले ‘म्यानमारमा लोकतन्त्र बहाली गर, सैन्य नरसंहार बन्द गर, म्यानमारको सैन्य कू बन्द गर’ जस्ता नारा लगाएका छन् ।  म्यानमारको नागरिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै, लोकतन्त्र बहालीको पक्षमा क्रान्तिकारीले दूतावास घेराउ गरेको हो । 

म्यानमारको जनताको पक्षमा, त्यहाँको स्वतन्त्रताको पक्षमा, त्यहाँको प्रजातन्त्रको पक्षमा र सैन्य दमनको विरुद्धमा दूतावास घेराउ र ज्ञापन पत्र बुझाइएको क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए । अहिलेको २१औं शताब्दीको समयमा पनि मानवअधिकारको चिरहरण गर्दै नागरिकहरूमाथि चरम दमन भएको भन्दै उनले संसारभरीबाट म्यानमारको सैन्य कू र जनताको जमनको बिरोधमा उठ्न आवश्यक रहेको धारणा राखे । 

माघ १९ गतेको सैन्य कू पछि म्यानमारमा दैनिक जुन्ता सरकारविरुद्ध विरोध प्रदर्शन भइरहेको छ । सेना र प्रहरीसँगको मुठभेडमा सयौं प्रदर्शनकारीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा बालबालिका समेत छन् । प्रदर्शन बढ्दै जाँदा सैन्य सरकारले नागरिकमाथि दमन बढाउँदै गरेको स्थानीय संचारमाध्यमहरूले उल्लेख गरेका छन् ।