आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

बाग्मतीको नीति तथा कार्यक्रममा ‘गरिखाने अभियान’ समावेश भएपछि चौधरी उत्साही

काठमाडौँ– उद्यमशील सोचलाई सीप, प्रविधि, पुँजी र बजारसँग सम्बन्ध स्थापित गराइ देशव्यापी रूपमा उद्यमशीलता विकासको अभियानका रूपमा परिचय बनाएको ‘गरिखाने अभियान’ लाई बाग्मती प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ । 

बाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रमको बुँदा नं. ९१ मा ‘‘स्वदेशमै रोजगारी गरौं’ भन्ने नाराका साथ विदेशबाट फर्केका तथा स्वदेश भित्र हरेक वर्ष श्रम बजारमा प्रवेश गर्ने तर रोजगारीको अवसरबाट वञ्चित युवाहरूलाई नवीन उद्यममार्फत स्वरोजगार बनाउन सीप, श्रोत र साधन उपलब्ध गराउने गरी ‘गरिखाने अभियान’ सञ्चालनमा ल्याइनेछ,’ भन्ने उल्लेख छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीको संयोजकत्वमा गठित लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दीगो परियोजना केन्द्रित विशेष समितिले यस अघि देखि नै आफ्नै पहलमा गरिखाने अभियानलाई देशव्यापी बनाएको छ । उद्यमशीलता विकासको यस अभियानको अब प्रदेश सरकारले पनि स्वामित्व लिएसँगै चौधरीले आफू उत्साहीत भएको बताएका छन् । 

यस अभियानले छोटो समयमै देशभर उपस्थिति जनाएको छ भने यसमा आवद्ध भइ उद्यमशील बन्न चाहानेहरूको संख्या उल्लेख्य बढेको छ । एक वर्षको अवधिमा ‘गरिखाने अभियान’मा आवद्ध १२९ उद्यम परियोजनालाई बैंक तथा वित्तीय संस्थाको सहुलियतपूर्ण कर्जा उपलब्ध भएर उद्यम/व्यवसाय सञ्चालन गर्दै आएका छन् । 

उद्यमशील बन्ने आकांक्षा राखेर ‘गरिखाने अभियान’मा जोडिएका सबैलाई स्थानीय सम्भावना अनुसारका उद्यम सञ्चालन गर्न सम्भावना पहिचान, व्यवसाय दर्ता, व्यवसायिक योजना विकास, सीप तथा प्रविधि र पुँजी उपलब्ध गराउने संस्थाहरूसँग समन्वय, सम्भावित जोखिमबारे अभिमुखीकरण र बजार पहुँच लगायत उद्यमशीलताको सम्पूर्ण ‘इकोसिस्टम’मा गरिखाने अभियानका साझेदार संस्थाहरूमार्फत् सेवा उपलब्ध हुँदै आएको छ । 

प्रदेश सरकारले समेत स्वामित्व लिएपछि आगामी दिनमा यो अभियानले अझै तीव्रता पाउने र लाखौं युवाको उद्यमशील बन्ने आकांक्षा पूरा गर्न यो अभियान कोशेढुंगा बन्ने चौधरीले विश्वास व्यक्त गरेका छन् । 

‘यो विशुद्ध उद्यमशीलता विकासको अभियान हो । यसले समावेशी, दीगो र स्थायित्वसहितको अर्थतन्त्र निर्माण गर्ने उद्देश्य राखेको छ,’ चौधरीले भने, ‘मुलुकमा रोजगारीको अवसर नभेटेर विदेशीएका युवालाई मुलुकमै उद्यम गर्न आकर्षित गर्न साथै रोजगारी र उत्पादनका थप आधार विस्तार गर्न देशव्यापी अभियान सञ्चालन गरेका हौं । यस दिशातर्फको अभियानले सार्थकता प्राप्त गर्नेमा हामी विश्वस्त छौं ।’

चौधरीले उद्यमशीलता विकासमा काम गर्ने संघसंस्था, यसका हिमायतीहरू, सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र सबैको यो साझा अभियान भएको बताउँदै मुलुकभित्रै उत्पादन विकासले आयात प्रतिस्थापन, रोजगारी, आर्थिक सशक्तीकरणमा महत्वपूर्ण टेवा पु¥याउने उल्लेख गरेका छन् । साथै, उहाँले महामारीले सिर्जना गरेको भीमकाय चुनौतीका बाबजुद ‘गरिखाने अभियान’लाई देशव्यापी बनाउँदै आकांक्षी उद्यमीहरूबाट प्रस्ताव लिएर प्रारम्भिक चरणमा १२९ परियोजनामा सहुलियत कर्जा लगानी भएको अवसरलाई ‘सेलिब्रेट’ गर्नुपर्ने बताए । 

‘गरिखाने अभियान’मा आवद्धताका लागि पहिलोपटक ‘रोड शो’ २०७७ माघदेखि शुरु भएको थियो । कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिको बाबजूद यो अभियान देशभर विस्तार भएको छ ।