आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

‘आयातबाट उत्पादनतर्फको बजेट हो, ८% आर्थिक वृद्धिदर लक्ष्य प्राप्त हुन्छ’

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रलाई नयाँ कोर्समा लैजाने गरी आगामी आर्थिक वर्ष २०७९–८० को बजेट तर्जुमा भएको बताएका छन् । 

बजेटपछिको पत्रकार सम्मेलनमा बोल्दै  उनले बजेटले उत्पादनमा सहुलियत, निर्यातमा अनुदान, कृषि, पर्यटन, जलविद्युत् क्षेत्रको विकासका साथै औद्योगिक क्षेत्रको विकासलाई केन्द्रित गरेको बताए । 
उनले बाहिर टिप्पणी भएको जस्तो यो बजेट चुनावमुखी र वितरणमुखी नभएको बताए । ‘किसानलाई योगदानका आधारमा पेन्सन दिने भनिएको छ,’ उनले भने, ‘उत्पादन बढाउन योगदानका आधारमा पेन्सन दिने कुरालाई चुनावमुखी भन्नुभएको हो कि ! त्यसो होइन ।’

उनले उद्योगलाई उत्पादनका आधारमा विद्युत महशुलमा छुट र निर्यात अनुदानको व्यवस्था रूपान्तरणकारी भएको उल्लेख गरे । 

उनले आर्थिक स्थायित्व, दिगो र समावेशी आर्थिक विकासलाई प्रवद्र्धन गर्ने, युवालाई रोजगारी सिर्जना गर्ने बजेटको उद्देश्य भएको बताए । उनले आर्थिक वृद्धिदरको ८ प्रतिशतको लक्ष्य हासिल हुनेमा आफू विश्वस्त रहेको बताए । 

पत्रकार सम्मेलनमा अर्थसचिव मधुकुमार मरासिनीले कुल गार्हस्थ उत्पादनको आकारको तुलनमा बजेटको आकार ठूलो नभएको र राजस्व संकलन लगायतका स्रोत अनुमान यथार्थपरक भएकोमा जोड दिए । 

त्यस्तै, बजेटको बुँदा नं. ७२ मा रहेको उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा योगदान गर्ने उद्योगले वार्षिक १० करोडको विद्युत् खपत गरेमा महशुलमा २ देखि १५ प्रतिशत महशुल छुट दिने नीतिगत घोषणामा ‘वार्षिक’ हुनुपर्नेमा ‘मासिक’ भएको भन्दै अर्थ मन्त्रालयले सच्याएको छ ।