मंगलबार २४ असार, २०८२
Tuesday, July 08, 2025

बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउन प्रतिनिधि सभामा संकल्प प्रस्ताव दर्ता


काठमाडौँ– बलात्कार सम्बन्धी मुद्दामा हदम्याद हटाउन प्रतिनिधि सभामा सांसदहरूले संकल्प प्रस्ताव दर्ता गराएका छन् । सत्तारुढ नेपाली कांग्रेसका चार सांसदहरू डा.डिला संग्रौला पन्त, प्रमिला राई, सुजाता परियार, रंगमती शाहीले हदम्याद हटाउन संकल्प प्रस्ताव दर्ता गराएका हुन् ।

संकल्प प्रस्तावमा पीडितले हदम्यादका कारण कानुनी प्रक्रियामा जान नसकेकाले यसलाई संसोधन गरिनुपर्ने माग गरिएको छ । ‘यदि कुनै पनि पीडितले हदम्यादका कारण कानुनी प्रक्रियामा जान नसकेको खण्डमा संविधानले व्यवस्था गरेका मौलिक हक नै औचित्यहीन हुन पुग्छ,’ संकल्प प्रस्तावमा भनिएको छ, ‘त्यसैले आम नागरिकको चासो र चिन्तालाई संवोधन गर्न, सरकारलाई आवश्यक दिशानिर्देश गर्न र समयमै कानून संसोधन गरि बलात्कारजस्ता जघन्य अपराधका पीडितलाई न्यायको मार्ग प्रशस्त गर्न लागि संकल्प प्रस्तुत गर्दछौँ ।’ 
सांसदहरूले संकल्प प्रस्तावमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा २ मा रहेको उजुरी सम्बन्धी व्यवस्थालाई संसोधन गर्नुपर्ने बताएका छन् ।
‘मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा २ मा रहेको उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थामा पीडितले उजुरी गर्न नसक्नुको भरपर्दो र मनासिव कारण देखाइ उजुर गर्न आएमा त्यस्तो उजुरी दर्ता गरी अनुसन्धान गर्न सक्ने गरि कानुन संसोधन गर्ने,’ संकल्प गर्नुपर्ने व्यहोरामा उल्लेख गरिएको छ ।