आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

चालु आर्थिक वर्षमा ११ खर्ब ५२ करोड राजस्व परिचालन गर्ने अनुमान

काठमाडौँ - सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब ५२ करोड राजस्व परिचालन गर्ने अनुमान गरेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । 

अर्थमन्त्री शर्माले कोभिड महामारीको विषय परिस्थितिमा पनि हालसम्मको राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको बताए । उनले चालू आर्थिक वर्षको राजस्व परिचालन लक्ष्य अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी भएको पनि बताए । 

उनले भने, ‘कोभिडको विषय परिस्थितिमा पनि हालसम्मको राजस्व संकलन अवस्था सन्तोषजनक रहेको छ । चालू आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही ११ खर्ब ५२ अर्व ४२ करोड संकलन हुने अनुमान छ । 

जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो । चालू आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान २४ अर्व ८१ करोड र ऋण  १ खर्ब ७२ अर्व ८८ करोड परिचालन हुने अनुमान गरिएको छ । 

चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म १ खर्ब ३५ अर्व आन्तरिक ऋण उठाई सकिएको छ । चालू आर्थिक वर्षमा २ खर्ब ३१ अर्व ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको छ ।  ’