शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

क्रसिङ सिजन शुरु हुँदा पनि बक्यौता भुक्तानी नभएपछि उखु किसान आन्दोलित

काठमाडौं : चिनी मिलहरुले बक्यौता भुक्तानी नगरेपछि उखु किसानहरुले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सरकार र उखु किसानबीच गत वर्ष माघमा किसानहरुको बैंक खातामा रकम पुर्‍याउने सहमति भएकी थियो । तर, सहमति अहिलेसम्म कार्यान्वयन नभएपछि आन्दोलन घोषणा गरेको उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले बताए ।

उखु किसानहरुलाई चिनी मिलले ८९ करोड ५५ लाख ४१ हजार एक सय ६९ रुपैँया भुक्तानी दिन बाँकी छ । यस वर्ष उखुको क्रसिङ सिजन मंसिरको अन्त्यतिरबाट शुरु हुँदैछ । यद्यपि किसानहरुले पुरानै बक्यौता पाएका छैनन् । ‘किसानहरुले उखुको भुक्तानी पाउने व्यवस्था गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहल गरेपनि केही मिल मालिकहरू सम्पर्कमा नआएको र केही मिलहरूको हकमा किसानले बैंकको खाता नम्बर उपलब्ध गराउन बाँकी रहेकाले केही लाख रुपैँया भुक्तानी बाँकी रहेको छ,’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले भने, ‘भुक्तानी नदिनेलाई कारबाहीका लागि गृह मन्त्रालयमा लेखि पठाएका छौं ।’

गत वर्ष माघको जाडोमा पानी पर्दा पनि कठ्यांग्रीएरै किसानहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । ‘त्यसपछि सरकारसँग वार्ता भइ किसानको खातामा रकम भुक्तानी गराउने सहमति भएको थियो,’ अध्यक्ष रायले भने, ‘तर सहमति अनुसार भुक्तानी नभएपछि चैतमा आन्दोलन शुरु गरेका थियौं । तर लकडाउनका कारण स्थगित गर्नु परेको हो ।’

चिनी मिलले उखु किसानहरुलाइ वर्षौंदेखि भुक्तानी नदिदाँ पनि सरकार मूकदर्शक बसेको किसानहरुले आरोप लगाएका छन् । नगदेबाली भनिए पनि सो अनुसार व्यवहार नभएकाले उखु खेतीमा किसानहरू निरुत्साहीत हुँदै गएको उनीहरूको भनाइ छ ।

केही चिनी मिलहरूले भुक्तानी दिन किसानहरुसँग बैंक खाता माग गर्दा पनि उपलब्ध नगराएको बताएका छन् । महालक्ष्मी सुगर मिल र बाग्मती खाँदबारी सुगर मिलले किसानले बैंक खाता उपलब्ध नगराउँदा केही लाख रुपैँया भुक्तानी दिन नपाएको उल्लेख गरे । रुग्ण भएको श्रीराम सुगर मिलले ३५ करोडमध्ये २६ करोड उखु किसानको र ९ करोड कर्मचारीलाई भुक्तानी दिन बाँकी छ । उसले जग्गा बेचेर भुक्तानी दिने प्रस्ताव सरकारसमक्ष गरेको छ । लुम्बिनी, अन्‍नपूर्ण र इन्दिरा सुगर मिलका स्वामित्वकर्ता भने सम्पर्कमा आएका छैनन् । यिनीहरूका सम्बन्धमा गृह मन्त्रालयलाई कारबाहीका लागि लेखीपठाएको उद्योग मन्त्रालयले जनाएको छ ।

कसको कति बक्यौता बाँकी 

बाग्मति खाँदबारी सुगर मिल : ३४ लाख ७ हजार ३ सय ७४ रुपैँया

एभरेष्ट सुगर मिल :८ लाख २० हजार ७ सय ७१ रुपैँया

महालक्ष्मी सुगर मिल : २० लाख रुपैँया

अन्नपूर्ण सुगर एण्ड जनरल : ३३ करोड १० लाख रुपैँया

इन्दिरा सुगर मिल :४ करोड ७० लाख रुपैँया

श्रीराम सुगर मिल : ३५ करोड रुपैँया   

लुम्बिनी सुगर मिल : ८ करोड ४१ लाख ४१ हजार ५ सय ८६ रुपैँया

(स्रोतः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय)