शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

विवाहको बहुरङ

नयनराज पाण्डेको नयाँ कथा संग्रह ‘जियरा’ कथा संग्रहमा संकलित पहिलो कथा ‘जनानी’ पढेर सकिएको पत्तै पाइएन । कथामा उठाइएको विषयवस्तु हेर्दा यति छिट्टै टुंगिएला जस्तो लागेको थिएन । यो कथा सकिएपछि मेरो मन दिनभरि तरंगित भइरह्यो ।

भारतीय जनजीवनमा आधारित कथा सरल र भावुक छ । एक भारतीय हिन्दु युवती गाउँकै अर्को मुश्लिम युवकसँग प्रेममा पर्छिन् । विवाहका लागि परिवारले स्वीकृति दिने कुरा भएन । गुपचुपमा निकाहा भयो तर त्यो थाहा पाएपछि परिवारले उनलाई घरमा नै थुनेर राख्छ । तर उनी एक दिन भागेर जान्छिन् ।

बहुसंख्यक हिन्दुहरू भएको गाउँमा गाई काटेर खाएको अफवाह चलाएर प्रेमी युवकलाई भीडले आक्रमण गरी मारिदिएपछि युवती माइती घरमै हुन्छिन् । नेपालबाट उपचार गर्न गएका रोगले ग्रस्त एक धनी बिरामीसँग बाबुआमाले जबर्जस्ती त्यो युवतीको विवाह गराइदिन्छन् । कमजोरीले बोल्नसमेत नसक्ने नवदुलाहाको मृत्यु कुर्ने काम मात्रै भयो युवतीको । उसको देहावसानपछि त्यो महिलाले आफूलाई पहिलो मुश्लिम पतिकै पत्नीका रूपमा स्वीकार गर्दै बुर्का लगाउन थालिन् । कथा सकिन्छ ।

मैले सोचेँ, वास्तवमा ती प्रेमिकाको त्यो नेपाली केटासँग विवाह भएको थिएन । प्रेमी त केवल एउटा ज्यूँदो लास थिए । मैले सुनेको थिएँ, मानिसहरू आफूले पालेको जनावरसँग पनि विवाह गर्न थालेका छन् । एक पटक गूगल गरौं न भनेर ‘वेडिङ विथ डेड बडी’ भनेर टाइप गरेको यति धेरै सूचनाहरू पाएँ कि म फेरि त्यही खोजी गर्न तिर लागेँ ।

आफूले पढेका केही विषय अरूले पनि थाहा पाओस् जस्तो लाग्छ । तर कस्तो विषय लेख्ने भन्‍नेबारे यकिन गर्न मैले आजकाल एउटा मापदण्ड तयार पारेको छु । आफूलाई राम्रो लागेको विषय कतै पढे पछि मैले प्रायः तीन जना साथीहरूलाई फोन गर्ने गरेको छु । मेरो प्रश्नको जवाफ उहाँहरूलाई थाहा भएन वा धेरै जानकारी छैन भने लाग्छ सायद अरु धेरै थोरै मानिसहरूलाई मात्र त्यसको जानकारी हुनुपर्छ । कतिपय अवस्थामा सबैलाई थाहा होला जस्तो लाग्ने विषय धेरै कमलाई मात्र जानकारी भएको पनि भेटियो । तसर्थ विश्वमा चलेका मरेको मानिससँग विवाह गर्नेसहित विवाहको केही चाखलाग्दो विषयमा एउटा छोटो लेख लेख्ने कोसिस गरेको छु ।

मानव सभ्यताको विकास सँगसँगै व्यवस्थित रुपमा यसको निरन्तरताका लागि केटा र केटीबीच विवाह गर्ने परम्परा सुरु भएको हो । प्रजनन प्रक्रियामा मानिस मात्रै त्यस्तो प्राणी हो जसले व्यक्तिगत रूपमा आफ्नो जीवन साथी चयन गर्ने गर्दछ । केही समयदेखि कृत्रिम रूपमा प्रजनन गर्न सकिने विधिसमेत सफल प्रयोग भइसकेको छ । विश्वका धेरै देशमा समलिङ्गी विवाहलाई पनि कानुनी मान्यता प्राप्त भइसकेको छ । यसको प्रयोग संसारभरि द्रुत गतिमा बढ्दै गएको देखिन्छ । ठूलो संख्यामा दुई व्यक्तिसँगै बस्ने तर विवाह नगर्ने चलन पनि उत्तिकै बढिरहेको देखिन्छ । विश्वमा जनसंख्या धेरै बढिरहेको कारणले पनि हुनुपर्छ धेरै जोडीले आफ्नो उत्तराधिकारी हुनै पर्ने मान्यता राख्दैनन् । आफू एक्लै जीबन चलाउनेहरू पनि प्रशस्त छन् ।

फ्रान्समा मृत्युपश्चात् विवाह हुनसक्ने कानुनी व्यवस्था नै छ । त्यहाँको नागरिक संहिताको धारा १७१ अनुसार त्यहाँको राष्ट्रपतिको अनुमतिमा भावी जोडीमध्येको एकको मृत्यु भएको खण्डमा उनीहरूबीच कानुनी रुपमा नै विवाह हुन सक्छ । पेरिसमा सन् २०१५ अप्रिल २० मा भएको आतंककारी हमलामा परी त्यहाँ एक प्रहरी अफिसर जेभियर जुगेले ज्यान गुमाएका थिए । त्यसको एक महिना पछि उसको मिल्ने साथी (पार्टनर) एटिन कार्डिलेसले उनी सँग विवाह गरे । उक्त समयमा उनीहरू प्रहरी फोर्सभित्र समलिङ्गीहरूको अधिकारका लागि अभियानमा लागिरहेका थिए ।

बेलायतमा पनि डेथ बेड म्यारिज प्रचलनमा छ । यहाँको कानुनले सम्पत्तिमाथिको अधिकार प्रयोग गर्न विवाह अनिवार्य मान्छ । तुरुन्तै मर्न सक्ने थाहा भएपछि त्यस्तो व्यक्तिसँग बसेको केटा वा केटीले सकेसम्म छिटो विवाह दर्ता गर्ने चलन छ । यस प्रकारको विवाहको लागि चौबिसै घण्टा सरकारी निकायको सेवा उपलब्ध हुन्छ । सन् २०१७ मा ५७५, सन् २०१८ मा ६२४, सन् २०१९ मा ६६१ यस प्रकारको विवाह दर्ता भएको देखिन्छ । जुन संख्या सन् २०२० र २०२१ मा उल्लेख्य बढेको अनुमान गरिन्छ । कोभिड महामारीको कारण यस्तो भएको हो ।

‘सुखी वैवाहिक जीवन भनेको दुई जना असल क्षमा दिनेहरूको मिलन हो ।’ 

चाइनामा अहिले पनि मृत आत्मासँग विवाह गर्ने चलन छ । यो निकै पुरानो परम्पराको रूपमा चल्दै आएको छ । मिंघुन भनिने यो चलनअनुसार दुई मृतक वा एक मृतकसँग अर्को बाँचेको मानिसले विवाह गर्ने चलन छ । कुनै कारण विवाह हुनुपर्ने जोडी मृत्यु भएमा अशुभ हुने हुँदा यस प्रकारको विवाह हुने गर्दछ । यस्तो चलन चीनको प्रभावमा रहेको जापानको ओकिनावामा पनि छ । नाजी जर्मनीमा विवाह हुनुपूर्व मारिएका सिपाहीहरूको गर्भवती महिलाको मृत सिपाहीसँग विवाह गरेपछि मात्रै कानुनी मान्यता पाउँथ्यो । सुडानमा पनि मृत आत्मासँग विवाह गर्ने चलन छ । विश्वका विभिन्‍न देशमा विद्यमान मरणोप्रान्त विवाहमा आधारित थुप्रै साहित्यहरू लेखिएका छन् । टीभीमा केही धारावाहिकहरू र घोस्ट म्यारिज, द मेड र स्पिरिट स्पाउस जस्ता चलचित्रहरू पनि बनेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार २०२१ मे २७ मा उत्तर प्रदेशमा सुरभी र मंगेशको बीच विवाह हुँदै थियो । हिन्दू परम्पराअनुसार रीतिथितिअनुसार विवाहका सबै कर्मकाण्ड सकिनै लाग्दा एक आपसमा माला लगाउँदै गर्दा दुलही लड्छिन् । तुरुन्तै डाक्टर त आइपुग्छन् तर हार्टअट्याकको कारण उनको मृत्यु भइसकेको घोषणा मात्रै गर्न सक्यो । दुवै पक्षको सहमतिअनुसार त्यही दिन दिदीको लास अर्को कोठामा राखेर बहिनीसँग मंगेशको विवाह सम्पन्‍न भयो । त्यही वर्ष उत्तर प्रदेशमा नै अर्को घटना पनि भएको थियो । विवाहका लागि दुलाहा जन्तीसहित दुलहीको घरपुग्छन् तर त्यहाँबाट भागेर उनी बेपत्ता हुन्छन् । पछि जन्तीमा आएका एक अर्को युवकसँग उक्त युवतीको विवाह भयो ।

विकसित देशहरूमा बालबच्चाको सट्टा कुकुर बिरालो पाल्ने गरेको पनि देखिन्छ । त्यति मात्रै हैन आफूले पालेका जनावरसँग धेरै नजिक भई सबैभन्दा भरपर्दो साथी बन्‍ने र उसैसँग वैधानिक नभए पनि औपचारिक रूपमा विवाह गर्ने गरेको पनि देखिन्छ । मानिस र जनावरबीचको सम्बन्ध निकै लामो मानिन्छ । प्रायःजसो देशको कानुनमा पशु करणीलाई अपराध मानेर सजाय तोकिनु त्यो समाजमा त्यस्तो भएको र हुने स्वीकारोक्ति हो । सन् २००६ मा एक सुडानी युवक बाख्रासँग करणी गर्दै गर्दा पक्राउ परेका थिए । समाजले उनलाई त्यही बाख्रासँग विवाह गरिदिएको थियो । त्यस्तै अवस्थामा पक्राउ परेका एक १८ वर्षीय युवकलाई बालीमा (इन्डोनेसिया) गाईसँग विवाह गरिदिए । संसारका विभिन्‍न देशहरूमा विशेष सम्प्रदायमा परम्पराअनुसार तर अरुलाई अनौठो लाग्ने धेरै प्रकारका प्रथाहरू अझै चलनचल्तीमा छन् ।

विभिन्‍न पौराणिक कथाहरूमा राजारानीहरूले घोडा, कुकुरसँग विवाह गरेको प्रसङ्ग जोडिएको पाइन्छ । अहिले वास्तविक रूपमा नै यस प्रकारको विवाह हुने गरेको खबर यदाकदा सुन्‍न र पढ्न पाइन्छ । भारतको केही प्रान्तहरूमा छोरा वा छोरीको ग्रहदशा कटाउन, रूप, स्वास्थ्य ठीक पार्न मानिससँग विवाह गर्नुभन्दा अगाडि कुकुरसँग विवाह गर्ने चलन छ । सन् २०१० मा जर्मनका एक युवकले आफूले पालेको बिरालो केही दिनमै मृत्यु हुने कुरा डाक्टरबाट थाहा पाएर उनीसँगै विवाह गरेका थिए । ४१ वर्षीय महिला (बेलायती नागरिक) ले इजरायलमा सन् २००६ मा डल्फिन विवाह गरेको खबर आएको थियो ।

२०१९ को जुलाई २२ मा बेलायतको चर्चित पत्रिका द सनमा ४९ वर्षीय पूर्व मोडेल एलिजाबेथ होडले आफूले पालेको ६ वर्षीय कुकुर लोगानसँग अर्को महिना विवाह हुँदै छ भन्‍ने खबर छापिएको थियो । उनको चार पटकसम्म विवाहका लागि इन्गेजमेन्ट भए पनि विवाहित बन्‍न कहिल्यै सकिनन् । आठ वर्षमा २२० पटक जीवन साथी बनाउने प्रयास गर्दा पनि असफल भएपछि उनको मानिसप्रतिको मोहभंग भएको बताएकी थिइन् । उनको विवाहको प्रत्यक्ष प्रसारण बेलायतको प्रख्यात आईटीभीको दिस मर्निङ कार्यक्रमबाट गरिएको थियो ।

चीनको तुजिया समुदायमा विवाह हुनुभन्दा एक महिना अगाडिदेखि हुनेवाला बेहुलीले दैनिक एक घण्टा रुनुपर्छ । उनलाई अन्य नातेदार तथा साथीहरूले पनि रुन सहयोग गर्दछन् । उनीहरू रुनु भनेको सफल विवाहको स्वागत गर्नु हो भन्‍ने मान्यता राख्छन् । दक्षिण सुडानको केही ठाउँमा विवाह गरेपछि दुईवटा छोराको जन्म दिन सक्यो भने मात्र त्यो विवाहले मान्यता पाउँछ । अन्यथा श्रीमान्‌ले पारपाचुके गर्न सक्छ । स्वीडेनमा विवाह भइरहँदा कुनै कारण बेहुला बाहिर गएमा त्यहाँ उपस्थित केटीहरूले र बेहुली बाहिर गए केटाहरूले लाइन लागेर चुम्बन गर्ने गर्दछन् । वेल्समा विवाहको दिन दुलाहाले मायाको चिह्नसहितको चम्चा उपहार दिनेछ । यसको मतलब माया त छँदै छ कहिल्यै भोको नराख्ने संकेत पनि हो भन्‍ने कथन छ ।

जर्मनीमा कतै विवाहको राति आफन्त साथीहरू सिरामिकका भाँडाहरू लिएर जाने अनि आँगन अगाडि फुटाउने र त्यहाँ बसेर बाजागाजा बजाएर रमाउने चलन छ । फ्रान्सको मर्किसस टापुमा विवाहपछि आफन्तहरू लस्करै घोप्टो परेर सुत्ने उनीहरूको जीउ माथि रातो रङको कपडाले छोप्ने र त्यसमाथि दुलहा दुलही हिँड्ने गरिन्छ । मौरिटानियामा दुलही मोटी हुनुपर्छ भनेर विवाह हुन अगाडि वजन बढाइन्छ । केही दक्षिण कोरियालीहरू विवाहको अघिल्लो रात बेहुलाको पाइतलामा बाँसको छडी र मरेको सर्पले पिट्ने चलन छ । स्कटल्यान्डमा दुलाहादुलहीलाई जे पायो त्यही फोहोरले छ्याप्ने अनि रूखमा बाँध्ने चलन छ । यसो गर्दा उनीहरूले जस्तोसुकै अवस्थाको पनि सामना गर्न सक्छन् भन्‍ने विश्वास गरिन्छ ।

पुरानो फ्रान्सेली परम्परा चरिबरीअनुसार विवाहको पहिलो दिन आफन्त र साथीहरू विवाह घर बाहिर विभिन्‍न भाँडाकुँडासहित जम्मा हुन्छन् र तिनै भाँडाकुँडा बजाउने चलन छ । त्यो साँझ नयाँ दम्पतीले केही पकाएर खुवाउने पिलाउने गर्नु पर्दछ । बोर्नियोको टीडोङ समुदायमा बेहुला र बेहुलीलाई तीन दिनसम्म कोठामा थुन्‍ने गरिन्छ । दिसा–पिसाबसम्म गर्न नपाइने यो चलन पक्कै पनि साह्रै पीडादायी हुनुपर्छ । फिजीमा बेहुली माग्न जाँदा बेहुला पक्षले ह्वेल माछाको दाँत उपहार लिएर जानु अनिवार्य हुन्छ । केन्या र तान्जियाका मासाई परम्पराअनुसार विवाहको दिन छोरीलाई ज्वाइँसँग पठाउँदा बाबुले मुखमा थुक्ने चलन छ । यसलाई शुभ साइत मानिन्छ ।

विश्वका प्रायः सबै देशमा विवाह गर्न पाउने न्यूनतम उमेर निर्धारण गरेको हुन्छ । सामान्य त विश्वका धेरै देशमा १८ वर्षलाई विवाहयोग्य उमेर मानिन्छ । तर केही देशहरूमा न्यायालयको सहमतिमा १०, १३, १४ र १५ वर्ष उमेरकाले पनि विवाह गर्न सक्छन् । सबैभन्दा बढी चीनमा महिला २० र पुरुष २२ वर्ष भयो भने मात्रै आफूखुसी विवाह गर्न सक्छन । स्थानीय जनजातिहरूमा भने यो उमेरको हदबन्दीको पालना भएको देखिँदैन । एकजना केटा वा केटीको एक जना मात्रै श्रीमान्‌ श्रीमती हुन सक्ने आम धारणा हो ।

तर सबैको हकमा भने यो लागू हुँदैन । मुस्लिम धर्मअनुसार एकभन्दा बढी श्रीमती राख्न पाउने देखिन्छ भने तिब्बत, भारत, नेपाल, चीन, नाइजेरिया, केन्या लगायत देशका केही भूभागहरूमा एकभन्दा बढी श्रीमान्‌ हुने प्रथा छ । मुस्लिम धर्मावलम्बी र नेपालका केही जनजातिमा एकाघरका काका अथवा मामा÷फुपू घरका दाज्यु बहिनीसँग विवाह गर्ने हक हुन्छ । अफ्रिका तथा अन्य देशका केही जनजातिहरूमा सबै दाज्यु भाइको एउटै श्रीमती अथवा दाज्युको मृत्युपछि भाइसँग बस्नुपर्ने हुन्छ । 

विवाहलाई दुई आत्माको मिलनका रूपमा पनि परिभाषित गरिन्छ । जीवनभरसँगै बाँच्ने त छँदै छ जुनीजुनीसम्म एक अर्काका लागि समर्पित हुने बाचाकसम पनि खाने गरिन्छ । राम्रो जोडीलाई पूर्वजन्मदेखिको साथी हुन सक्ने अड्कल पनि काटिन्छ । कति असफल जोडी भने यो जुनीमा साथै हुन नसकिए पनि अर्को जुनीमा भए पनि भेट्ने आशा लिएर बाँकी जीवन बिताउँछन् ।

संसारका सबै धर्म परम्पराअनुसार गरिने विवाहमा दुलाहादुलहीले एक आपसमा दुःखसुखमा, गारो सारोमा एक आपसमा हेरचाह गर्ने र मृत्युसम्म साथ रहने बाचा गरिन्छ । तर परिवर्तित समय सँगसँगै विवाहमा खाएका कसमहरू पूरा नहुने अवस्थामा विवाह बन्धन तोडिने चलन पनि चल्दै आएको छ । यो क्रम निरन्तर रूपमा बढ्दै गएको देखिन्छ । विवाहबारे धेरै कथन छन् जसमध्ये एक अमेरिकी पत्रकार रोबर्ट क्विलनको यो भनाइ मननयोग्य लागेको छ, ‘सुखी वैवाहिक जीवन भनेको दुई जना असल क्षमा दिनेहरूको मिलन हो ।’

श्रेष्ठका अन्य लेख