हरित हाइड्रोजन विकास गर्न प्राधिकरण र केयूबीच सम्झौता
काभ्रे - विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालय (केयू) बीच अर्थतन्त्रमा योगदान पुर्याउन र जलविद्युतको राम्रो उपयोग गर्न हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धनमा सहकार्यसम्बन्धी सम्झौता भएको छ । यो समझदारीले प्राधिकरण र सरकारको चासोसँग सम्बन्धित ज्ञान, विशेषज्ञता र जनशक्तिको विकास गरी नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रवद्र्धन गर्नेछ ।
प्राधिकरणको गत वैशाख ७ गते बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको ‘घरेलु अर्थतन्त्रमा योगदान र जलविद्युतको राम्रो उपयोगका लागि नेपालमा पाइलट हरित अमोनिया उत्पादन’ सम्बन्धी केयूबाट प्रस्तावित परियोजना प्रस्तावलाई पनि दुवै पक्षले औपचारिकता दिएको छ ।
दुवै पक्षले हरित हाइड्रोजन प्रविधिको पायलट–स्केलमा अनुसन्धान गर्न, ग्रिडको गुणस्तर र विश्वसनीयता सुधार गर्न हाइड्रोजन प्रविधिको प्रयोग, हिउँद मौसममा ऊर्जा भण्डारणका साथै नेपालमा जलविद्युतको उचित सदुपयोग गर्न क्षमता विकास गर्ने जस्ता बुदाँहरुमा सहकार्य गर्ने सम्झौतापछि केयूले जारी गरेको विज्ञप्तिमा छ ।
सम्झौताले नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रयोगमा तीनवटा स्नात्तकोत्तर तह र विद्यावारिधी तहका कार्यक्रमहरू समेत प्रदान गर्नेछ। दुवै संस्थाका स्रोतसाधनको उपयोग पारस्परिक हितका क्षेत्रमा एकअर्काका गतिविधिलाई सुदृढ बनाउन यस सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने के.यू. र प्राधिकरणको अपेक्षा रहेको विज्ञप्तिमा उल्लेख छ ।
सम्झौतामा केयूका उपकुलपति प्रा. डा. भोला थापा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरे । सम्झौता हस्ताक्षरमा ग्रीन हाइड्रोजन ल्याब, केयूका प्रमुख सहप्राध्यापक विराजसिंह थापा र प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपाने सहभागी थिए । यो सम्झौता हस्ताक्षर भएको मितिदेखि ५ वर्षसम्म रहनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै स्कुल अफ इन्जिनियरिङका डीन प्रा. मनिष पोखरेलले ग्रीन हाइड्रोजनको क्षेत्रमा अगाडि बढ्ने यो सम्झौताको महत्वमाथि जोड दिए । ‘यस क्षेत्रमा प्राधिकरणको संलग्नताले नेपालमा हरित हाइड्रोजन प्रविधि प्रवर्द्धन गर्ने आत्मविश्वास बढेको छ,’ पोखरेलले भने ।
सहप्राध्यापक विराजसिंह थापा के.यू.को ग्रीन हाइड्रोजन ल्याबका प्रमुख, नेपालमा हरित हाइड्रोजन प्रवर्द्धन गर्न के.यू.ले चालेका वर्तमान गतिविधि र पहलबारे संक्षिप्त प्रस्तुति दिए। उनले सन् २०३५ सम्ममा नेपालले विश्वकै सस्तो हरित हाइड्रोजन उत्पादन गर्न सक्ने बताए ।
‘केयू पहिले नै नेपालमा हरित हाइड्रोजन प्रविधिको अनुसन्धान र कार्यान्वयनमा संलग्न छ,’ उनले भने, ‘हामीले प्रचुर मात्रामा जलविद्युतको प्रयोग गरी हरित हाइड्रोजन उत्पादन गर्ने र जीवाश्म इन्धनबाट हरित ऊर्जामा ऊर्जा संक्रमणलाई अगाडि बढाउने अत्याधिक सम्भावना रहेको महसुस गरेका छौं ।’
हाइड्रोजन यातायात, औद्योगिक ताप, रासायनिक उद्योग र ऊर्जा उद्योगमा उपयोग गर्न सकिन्छ । हाइड्रोजन अमोनिया र यूरिया जस्ता वस्तुहरु उत्पादन गर्न प्रयोग गर्न सकिन्छ । हाल अमोनिया र यूरिया आयात हुँदै आएको छ ।
प्राधिकरणले प्रयोग गर्न चाहेको अतिरिक्त विद्युतको सदुपयोग गरी इलेक्ट्रोलाइसिस मार्फत हाइड्रोजन उत्पादन गरी धेरै वस्तुहरूको उत्पादन गर्न सकिन्छ । के.यु. र प्राधिकरणले आन्तरिक माग पूरा गर्ने र आयातमाथिको निर्भरता घटाउने उद्देश्यले अमोनिया उत्पादन गर्ने प्लान्ट स्थापना गरी जलविद्युतको अधिकतम उपयोग गरिने सम्झौता छ ।
के.यू.का शैक्षिक–उद्योग संयोजक डा. राम लामाले प्राधिकरणसँगको विगतको सहकार्यको राम्रो अनुभवलाई पछ्याउँदै हरित हाइड्रोजनमा यो सम्झौता गर्न पाउँदा खुशी व्यक्ति गरे । यस सम्झौताले हाइड्रोजन प्रविधिमा मास्टर्स र पीएचडी सहितको मानव संसाधन विशेषज्ञ उत्पादन गर्ने योजनाहरू पनि प्रस्ताव गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले ग्रीन हाइड्रोजन ल्याब र के.यू.ले गरेका सबै प्रयासको स्वागत गरे । उनले विश्व हरित ऊर्जातर्फ उन्मुख रहेको र नेपालले पनि त्यसलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
‘नेपालमा हरित ऊर्जा प्रणालीमा जानको लागि हरित हाइड्रोजन उपयुक्त माध्यम हुनसक्छ भन्ने हाम्रो विश्वास छ । यो सम्झौता नेपालको हाइड्रोजन क्षेत्रमा कोसेढुङ्गा हुनेछ,’ घिसिङले भने ।
घिसिङले नेपाल ‘खुद निर्यातकर्ता’ बन्ने काममा रहेको तर उत्पादित जलविद्युत स्वदेशमै उपयोग गर्न सकियोस् भन्ने आफूहरुको चाहना रहेको बताए । हाइड्रोजनले नेपालको पेट्रोलियम पदार्थ आयातसमेत घटाउन सक्छ । भारत आफैं ९० प्रतिशत पेट्रोलियम पदार्थमा अन्य देशमा निर्भर रहेकाले नेपालको ऊर्जा सुरक्षाको मुद्दा गम्भीर रहेको बताए ।
के.यू.का तर्फबाट सम्झौतामा हस्ताक्षर गर्ने के.यू.का उपकुलपति प्रा. भोला थापाले सर्वप्रथम सन् २००४ मा नेपालमा हाइड्रोजनबारे छलफल सुरु गरेका त्रिभुवन विश्वविद्यालयका विगतका प्राज्ञिक विद्वानहरूलाई धन्यवाद दिए ।
‘हामीले नेपालमा जलविद्युतको अधिकतम उपयोग गर्न शैक्षिक क्षेत्रले कसरी योगदान पुर्याउन सक्छ भन्ने विषयमा दुई वर्षअघि छलफल सुरु गरेका थियौं’ प्राध्यापक थापाले भने, ‘हामी यहाँसम्म आइपुगेकोमा म खुसी छु र अब नेपालमा हरित हाइड्रोजन प्रविधिहरू सम्भव छ भनी देखाउने समय आएको छ ।’

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

राहुघाट जलविद्युत् आयोजना सकियो, परीक्षण उत्पादन हुँदै

विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने

बौदीकालीमा बल्ल पुग्यो बिजुली

प्रतिक्रिया