शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

बागमती प्रदेश सभा : प्रि बजेट पेस, भोलि अर्को बैठक बस्ने गरी स्थगित

मकवानपुर – बागमती प्रदेश सभा दशौँ अधिवेशनको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को प्रि बजेट पेस भएको छ । प्रदेश सभाको आजको दोस्रो बैठकमा प्रि बजेट पेस भएसँगै बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले आगामी आर्थिक वर्षको लागि प्रि बजेट पेस गरेलगत्तै सभामुख सानुकुमार श्रेष्ठले आजको बैठक स्थगित गरेका हुन् । सभामुख श्रेष्ठले प्रदेश सभाको अर्को बैठक भोलि विहान ११ बजेको लागि आह्वानसमेत गरेका छन् । भोलि बस्ने बैठकमा प्रि बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस अघि आजै बसेको प्रदेशसभाको पहिलो बैठकमा ५ वटा अध्यादेश पनि पेश भएको थियो । प्रदेश सभाको अधिवेशन नचलेको समयमा सरकार सञ्चालनको लागि अत्यावश्यक ऐनहरुलाई अध्यादेशमार्फत् ल्याएको थियो । प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ सभामा पेस गरेका हुन् ।

त्यसैगरी, युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ पेश गरे । प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ संसदमा पेस गरिएको छ । सरकारले सभा संचालन नभएको समयमा ल्याएका अध्यादेशहरु सदनबाट पास गर्नुपर्ने व्यवस्था रहेको छ । सदनबाट पास नभए अध्यादेश कानुन बन्न नसक्ने कानुनी व्यवस्था रहेको छ ।