काम छोडी भागेको ठेकेदारलाई थुनेका वडाअध्यक्षले फेरि कागज गराए

काठमाडौं - काम छाडेर भागेको ठेकेदारलाई चाँगुनारायण नगरपालिका वडा नं. ३ का नवनिर्वाचित वडा अध्यक्ष श्यामसुन्दर धिमालले पुनः एक महिने कागज गराएका छन् ।
यही असार मसान्तभित्र सक्ने गरी साविकको झौखेल गाविसमा पर्ने कवासे खोलामा पुल निर्माणको ठेक्का पाएको ठेकेदार एसपीपी कन्स्ट्रक्सन एण्ड सप्लायर्सका ठेकेदारलाई वडा अध्यक्ष धिमालले एक महिनाभित्र सबै काम पूरा गर्ने गरी कागज गराएका हुन् ।
ठेकेदारले काम नगरेपछि पूर्वाधार विकास कार्यालय, काभ्रेका प्रतिनिधि, ठेकेदार र स्थानीय बासिन्दासहितलाई राखेर आफूले कागज गराएको वडाध्यक्ष धिमालले बताए ।
स्थानीय तहको निर्वाचनअघि नै केही व्यक्तिहरुले पुल निर्माणमा अवरोध गरेकाले ठेकेदारले काम गर्न नपाएको धिमालको भनाइ थियो । ‘चुनावअघि यो पुल नबनाउन र काम नसक्न यहाँका केही व्यक्तिहरुले ठेकेदारलाई तर्साएछन्,’ धिमालले इकागजसँग भने, ‘चुनावपछि पनि काम गर्न अटेरी गरेकाले हिजो बोलाएर लिखितै गर्यौं ।’
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धिमाल पुनः वडा अध्यक्षमा विजयी भएका हुन् । धिमालले यसअघि ठेकेदार कम्पनी एसपीपीले सुरुमा काम नगरेपछि वडा कार्यालयमा थुनेका थिए । त्यसपछि तीन महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने सहमति भएको थियो ।
ठेकेदार काम गर्न तयार भए पनि डाइभर्सनको बाटोलाई लिएर केही स्थानीय वासिन्दाले विवाद झिकेका थिए । त्यसले ठेकेदारलाई झन् ठूलो निहुँ पाएको थियो ।
वडा नं. ३ मा तीन ठाउँमा सडक तथा पुल निर्माण कार्य भए पनि तीनवटै ठेकेदारले काम नगरेपछि नाकाबन्दी नै लगाएको झैं भएको वडा अध्यक्ष धिमाल बताउँछन् ।
लोकतान्त्रिक चोकदेखि झौखेल जाने बाटो निर्माणको ठेक्का पाएको प्रेम खत्रीले पनि काम नगरेकाले उसलाई पनि ताकेता गरिएको धिमालले बताए । खत्रीले यही जेठ महिनभित्र पूरा गर्नुपथ्र्याे । ‘खत्रीले त्यहाँ काम असरल्लै छाडेको छ, मैले सडकको डीई साबलाई पनि भनें,’ धिमालले भने, ‘डीई साबले पनि बोलाएर कुरा गरें भन्नुभयो ।’
मुख्य बाटो सल्लाघारी–दुवाकोटमा विगत एक वर्षदेखि ढल हाल्ने कार्य भइरहेको छ । उक्त सडक पूरा हुन अझ कयौ महिना लाग्छ । अर्काे कुम्भ मुक्तेश्वर सडकमा पनि बीचमा भत्केकाले त्यसको ठेकेदारले पनि काम नगरेको धिमालले बताए । ‘चाँगु, साङदह, नारायणटार, दाहाल गाउँ, गेलाल गाउँ लगायत यता आउजाउ गर्नै समस्या भयो,’ उनले भने, ‘वडा कार्यालयले सबैसँग समन्वय गरी छिटोभन्दा छिटो काम सकाउन लागिपरेका छौं ।’
प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार मन्त्रालयको पूर्वाधार विकास कार्यालय, काभ्रेका प्रमुख लोकनाथ रेग्मीले आर्थिक रुपले गतिलो ठेकेदार नपरेकाले काममा ढिलाई भएको बताए । ठेकेदारले काम थाल्न सुरु गरेपछि पानी परेको पर्यै गरेकाले समस्या भएको रेग्मीले बताए । ‘यो ठेक्काले हामीलाई पनि तनाव दिइरहेका छो, हामी लागिपरेका छौं,’ रेग्मीले इकागजसँग भने ।
यता साविकको ठेकेदारबाट काम गर्ने जिम्मेवारी पाएका सुशील बस्नेतले असार मसान्तसम्म समय रहे पनि त्यो अघि सक्ने लक्ष्य रहेको बताए । ‘लाइन लेबलको विवादले रोकियो, जसोतसो मुनिको ढलानसम्म गराइयो, त्यसपछि स्थानीय चुनावले केही दिन रोकियो,’ बस्नेतले भने, ‘पाँच सात दिन भनेजति काम गर्न सकिएन । एक दिनमा दुईपट्टि गर्दा नौ दिनमा सकिन्थ्यो । सामान पनि थुपारेका थियौं । अलिकति ढिलाई भयो ।’
गत चुनावको दुई दिन ढलाइका लागि राखिएको फर्मा पानी परेपछि आएको बाढीले बगाएको उनले बताए । ‘त्यसपछि पानी परेको पर्यै भएर सोचेजस्तो काम गर्न सकिएन,’ बस्नेतले इकागजसँग भने, ‘ अहिले सबै जनशक्ति लगाएर त्रिपाल राखेर पनि बस्ने गरी काम सुरु गरेका छौं । हिजो सहमति गरियो ।’
डाइभर्सन नै भत्काइयो
गत मंगलबार पानी परेपछि चाँगुनारायण वडा नं. ३ को गेलाल गाउँस्थित एउटा जग्गा प्लटिङको माटो बगाएर स्थानीयको घरमा पानी छिरेपछि वडा अध्यक्ष धिमालले डाइभर्सनको बाटो भत्काई निकास खोले । उक्त डाइभर्सन भत्काएपछि अहिले वडा नं. ३ को सडक सञ्जाल सम्पर्क बिच्छेद भएको छ ।
कबासे खोलामा निर्माणाधीन पुलनेर डाइभर्सन खोलिएको थियो । ‘घरमै पानी छिर्न थालेपछि मैले नै ठेकेदारलाई बोलाएर पानीको निकासका लागि भत्काउन लगाएँ,’ धिमालले भने, ‘अब त्यहाँ ढल राखेर डाइभर्सन पुनः खोलिनेछ ।’

मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

भूकम्प र बाढीपहिरोले थिलथिलियो बिपी राजमार्ग

‘बाढीले गाउँबस्ती डुवानमा पर्ने समस्या हट्यो’

कालीगण्डकी करिडोरः हर्मिचौर-बलेवा खण्डमा कालोपत्र

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

प्रतिक्रिया