बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

ओलीको प्रश्‍न : यो देश प्रचण्ड भन्‍ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ?

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले हतारो गर्दा नेकपा विभाजन भएको बताएका छन् । काठमाडौँको सभागृहमा आयोजित रिपोट्र्स क्लबको बार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले चैतमा महाधिवेशन गरौँ भन्दा पनि दाहाल र नेपालले हतारो गरेको बताएका हुन् ।

आफूले अध्यक्ष पद छाड्छु र महाधिवेशनबाट नयाँ अध्यक्ष चुनौँ भन्दा पनि नमान्दा दाहाल र नेपाल सडकमा पुगेको ओलीको भनाई छ । साथै केही व्यक्तिको स्वार्थका लागि माओवादी केन्द्रका अध्यक्ष दाहालको स्वार्थ पछाडि जानुपर्ने हो र ? भन्दै प्रश्न समेत गरे । ‘यही चैतमा महाधिवेशन गरौँ भन्या थिएँ । म अध्यक्ष छाड्छु, को अध्यक्ष बन्ने हो बन्नु भनेर भनेकै थिए’, प्रधानमन्त्री ओलीले भने, ‘तर पनि मानेनन् । केही व्यक्तिको स्वार्थका लागि पुष्पकमल दाहाल ‘प्रचण्ड’ भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो ?’

साथै उनले वरिष्ठ नेता नेपाललाई नेकपामा तेस्रो अध्यक्ष बन्न आग्रह गरेको बताए । तर अरुले उचालेका कारण नेता नेपाल तेस्रो अध्यक्ष पनि बन्न नसकेको ओलीको भनाई छ । माओवादी केन्द्रका अध्यक्ष दाहालसँग विभिन्न चरणमा सहमति भएपनि ती सहमति दाहालले नै कार्यान्वयन नगरेको ओलीको आरोप छ । कार्यकारी चाहियो भनेर भएका सहमति च्यातेर पनि दाहाललाई कार्यकारी अध्यक्ष बनाइएको ओलीले दाबी गरे । 

‘आधा आधा भन्ने कागज च्यातेर कार्यकारी चाहियो भन्या होइन । उहाँले आधा आधा गर्ने भनेपछि भाग लगाउनुपर्छ भनियो । कार्यकारी अध्यक्ष बनाइयो’ ओलीले थप अगाडि भने, ‘माधव नेपाललाई तेस्रो अध्यक्ष हुनुस भनेर पनि भनेको थिए । तर मान्नुभएन । केहीले उचाले । अनि प्रचण्डसँगै सडकमा पुग्नुभयो ।’

प्रधानमन्त्री बन्न हतार गर्दा दाहाल–नेपाल सडकमा पुगेको र नेकपाको एकता जोगिन नसकिएको ओलीको भनाई छ । एकता जोगाउने कुरा गर्दा नेकपाको अध्यक्षलाई, महासचिवलाई, संसदीय दलको उपनेतालाई कारबाही गर्नु दाहाल–नेपालको गल्ती भएको पनि ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले प्रेस स्वतन्त्रताका विषयमा सरकार प्रतिबद्ध भएपनि केहीले भ्रमपूर्ण समाचार छापेर भ्रम फैलाएको बताए । सरकारले सञ्चार जगतमाथि कुनै पनि अंकुश, बन्देज नलगाउने भन्दै प्रेस स्वतन्त्रता कायम राख्न आफू प्रतिबद्ध रहेको ओलीको भनाई छ ।