बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

अंगिकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता चाहियो : महन्थ ठाकुर

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले अंगिकृत नेपालीको सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रममा प्रश्न गर्दै अध्यक्ष ठाकुरले भने, ‘नागरिकताको समस्या मधेसको मात्रै होइन । सिंगो देशको समस्या हो । अंगिकृत नागरिकहरुले अहिलेसम्म किन वंशजको नागरिकता पाइरहेको छैनन ?’ 

उनले स्वतन्त्रताको लागि संघर्ष गरिरहेको भए पनि मधेसमा लोकतन्त्र नभएको बताए । ‘हामी स्वतन्त्रताको लागि, लोकतन्त्रको लागि समानताको लागि संघर्ष गर्दै आएको हो । के मधेशमा पनि डेमोक्रेसी छ ? मधेशीलाई थारुहरुलाई पनि छ ? यदि छ भने तिनिहरु किन जेलमा छन् ?’ उनले भने ।   

उनले प्रधानमन्त्री केपी ओलीले धेरै पहिलेदेखि नै सरकारमा आउन आग्रह गरेको तर, आफ्ना मागहरु सम्बोधन नभएकोले सत्ता साझेदारी हुन नगएको पनि बताए । ‘आज उठिरहेकोछ जसपा या मेरो प्रधानमन्त्रीसँग के लगनगाँठो छ । प्रधानमन्त्रीजी यहीँ हुनुहुन्छ । जुनदेखि उहाँ प्रधानमन्त्री हुनुहुन्छ । त्यसै दिनदेखि तपाईंहरु सरकारमा आउनुस् भनिरहनु भएको छ,’ उनले भने, ‘आजको नौलो कुरा होइन । हाम्रो जवाफ सुरुदेखि त्यही छ । हाम्रो मुद्दा छ त्यो ध्यान दिनुस् । हाम्रा सांसद जेलमा छन् । सांसदहरु तारिकमा छन्, मेयरहरु समस्यामा छन् । यसलाई फुकुवा गर्नुस त्यसपछि हामी बिचार गर्छाैँ । हाम्रो हातपाउ बाँधिएको छ ।  कसरी सरकारमा आउने ?’ 

उनले प्रधानमन्त्रीले जसपाको मागबारे प्रक्रिया अघि बढेको जानकारी आजमात्रै आफूलाई पठाएको पनि बताए ।  ‘प्रक्रिया अघि बढेको छ । भनेर जानकारी आएको छ । सकरात्मक रुपमा अघि बढेकोले प्रधानमन्त्रीजीलाई म धन्यावाद दिन चाहन्छु ’ उनले भने ।   उनले सरकार बनाउन कांग्रेसले सँगै जाउँ भने पनि कसरी जाने भन्ने विषयमा नभनेको बताए । उनले नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेसबीच नै कुरा नमिलेको बताए ।