अनमोलको जन्मदिन विशेष : फिल्म खोजिरहेको एउटा स्टार

काठमाडौं : अभिनेता अनमोल केसीले आज २७ औं जन्मदिन मनाइरहेका छन् । अभिनेता भुवन केसी र सुष्मिता केसीका एक मात्र सन्तान अनमोल नेपाली फिल्मका एक मात्र बिकाऊ स्टार हुन् । बिकाऊ यस अर्थमा कि आज पनि उनको नाममा एक हदसम्म दर्शक हलमा आउँछन् । उनका फिल्मले अन्य तथाकथित स्टारले भन्दा निर्माताको पैसा कम डुबाउँछन् ।
अनमोलले फिल्म ‘होस्टल’बाट आजभन्दा ८ वर्षअघि नेपाली फिल्ममा डेब्यू गरेका थिए । त्यसयता उनले यो अवधिमा आठै फिल्ममा अभिनय गरेका छन् ।
अनमोलको सुरुका चार फिल्म ‘होस्टेल’, ‘जेरी’ ‘ड्रिम्स’ र ‘गाजलु’व्यवसायिक रुपमा सफल फिल्म थिए । ‘जेरी’का निर्माता आफ्नो लगानी नउठेको गुनासो गर्थे तर त्यो फिल्म चल्दा हलमा दर्शकको राम्रो भिड थियो । गोपीकृष्णमा त स्कुले विद्यार्थी धेरै आएको भन्दै प्रहरीले नै हस्तक्षेप गर्नु परेको थियो ।
यसरी ‘ब्याक टु ब्याक’ सफल फिल्म दिएपछि कलाकारको जीवनमा जे हुन्छ त्यही सुरु भयो । अर्थात् अनमोलमाथि बजार हाबी हुन थाल्यो । त्यो भनेको कलाकारको अभिनय हैन उसले पाउने पैसाको कुरा हुन थाल्यो । यसको सुरुवात भयो पाँचौं फिल्म ‘कृ’बाट । यो फिल्ममा पहिलो पटक उनले २० लाख पारिश्रमिक लिएको कुरा अहिलेको भाषामा भन्दा ‘भाइरल’ भयो ।
यो फिल्ममा अनमोल अघिल्ला ४ फिल्मको ‘कम्फर्ट जोन’बाट बाहिर निस्कने प्रयास गरे । जिम गए, कपाल लामो बनाए, एक्सन गरे । अनि सबैभन्दा राम्रो कुरा नृत्यमा व्यापक सुधार गरे । नाच्न नआउने आरोप खेप्दै आएका उनले ‘कृ’को ‘यतियति पानी’ बोलको गीतमा मज्जाले नाचेर आलोचकको मुख थोरबहुत बन्द गर्न सफल भए ।
तर, यतिबेलासम्म पनि अभिनय गर्न नआउने आरोप भने चिर्न सफल भएनन् । अन्ततः यो फिल्म अनमोलको सबैभन्दा धेरै घाटा खाने फिल्म साबित भयो ।
यसपछि होम प्रडक्सनबाट बनेको ‘क्याप्टेन’ले घाटा खाने मामलामा ‘कृ’को सिको गर्यो । ‘क्याप्टेन’मा व्यवसायिक फिल्ममा चाहिने सबै कुरा थोपरिएको थियो तर फुटबलमाथि बनेको यो फिल्मले दर्शकको मनमा स्कोर गर्न सकेन । यसबाट पनि निर्माताले थोरबहुत घाटा खाए ।
एउटा कलाकारलाई कलाकार बनाउन हिटको जति खाँचो हुन्छ फ्लपको पनि त्यतिकै खाँचो हुन्छ । तर, अनमोलले त्यो फ्लप महसुस गर्न पाएका छैनन् । फ्लपले कलाकारलाई जमिनसँग जोडी राखेको हुन्छ । तर, मिडिया अनमोलप्रति कठोर नहुँदा उनको जति आलोचना हुनुपथ्र्यो त्यति भएको छैन ।
अझ यसमाथि अनमोललाई लिएर फिल्म बनाउन खोज्ने निर्माता÷निर्देशकको चापले पनि उनलाई आफ्नो करिअरलाई कसरी अगाडि बढाउने भन्ने चिन्तन गर्न दिएको छैन । तर, यो कन्फर्म हो, अनमोलले अहिलेकै सफलतामा रमाइरहने हो भने जसरी राजेश हमालले आफूलाई मनपर्ने आफ्नै फिल्मको नाम भन्न सक्दैनन् त्यही अवस्था अनमोलको पनि हुनेछ ।
हिटकै मात्र कुरा गर्ने हो भने वितरकका अनुसार एक समय राजेश हमाल उभिएका सबै फिल्मले पैसा कमाउँथे । अनमोलले आठ वर्ष लामो अभिनय यात्रामा रिस्क लिन खोजेको देखिएको छैन । उनले लभस्टोरीबाट एक्सन फिल्म खेल्नु वा गरिब हुनु कुनै रिस्क हैन ।
धेरैलाई लाग्दो हो ‘कृ’मा उनले एक्सन गरेका थिए अनि ‘क्याप्टेन’मा गरिब बनेका थिए । तर, दुवै फिल्ममा उनले ‘हिरोइज्म’ छाड्न सकेका छैनन् । यसका लागि उनले निर्देशकलाई मात्र दोष दिएर उम्कन पाउनेछैनन् । स्टार अनमोल हो, उनले दर्शकले खोजेको सिनेमा दिने मात्र होइन, दर्शकको रुचि परिवर्तन गर्ने सिनेमा पनि छान्न सक्नुपर्छ ।
अहिले अनमोललाई बजारमा चलेका फिल्म निर्देशकको फिल्म छान्नुपर्ने दबाब छ । अहिले उनलाई हेमराज बिसी, दिनेश राउत, निगम श्रेष्ठ, सिमोश सुनुवार, मुकुन्द भट्ट आदि निर्देशक आफ्नो फिल्म खेलाउन प्रतिस्पर्धा गरिरहेका छन् । बजारमा जाँच दिइसकेका यी निर्देशकलाई भरोसा गर्ने कि ? प्रतिस्पर्धामा नरहेका निर्देशक खोज्ने, अनमोलले विचार गर्ने समय आएको छ ।
अनमोल स्टार हुन् यसका शंका छैन तर उनको स्टारडम कायम गर्न उनलाई सोलिड हिटको जरुरी छ । यस्ता फिल्म व्यवसायिक हुन् वा आर्ट हाउस तर तिनमा अनमोलको बलियो उपस्थिति रहन जरुरी छ । नत्र भने राजेश हमाललाई ‘महानायक’ भारी भएझैं अनमोललाई पनि ‘मेगास्टार’को बोझ भारी हुनेछ ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया