शनिबार ३१ जेठ, २०८२
Saturday, June 14, 2025

भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

काठमाडौँ - भारत सरकारको अनुदान सहयोगमा कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ। भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत नामग्य सी खम्पाले आज कास्की जिल्लाको पोखरा महानगरपालिका–१३ ढाँडबेसीमा अवस्थित श्री आर्वा विजय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरेकी हुन्। 

यस श्री आर्वा विजय माध्यमिक विद्यालय कास्की जिल्लाको एक पुरानो विद्यालय हो । ‘भारत-नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत एवम् उच्च प्रभाव सामुदायिक विकास परियोजना अनुरुप भारत सरकारको अनुदान सहयोगमा कुल ३ करोड ६३ लाख रूपैयाँको लागतमा यस विद्यालय भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको 'आजादीका अमृत महोत्सव' अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरू मध्येको एक हो ।

सन् २००३ यता भारतले नेपालमा ५ सय २७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कास्की जिल्लाका ११ गरी गण्डकी प्रदेशमा ५७ वटा रहेका छन् ।