आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

वाग्मती नदी किनारमा फोहर फाल्ने र ढल हाल्नेलाई पाँच हजार जरिवाना

फाइल फोटो

काठमाडौँ - वाग्मती नदीमा ढल हाल्ने र नदी किनारमा फोहर फाल्ने स्थानीयवासीलाई काठमाडौँ महानगरपालिका वातावरण विभागले पाँच हजार जरिवानासहित कारबाही गरेको छ । 

वाग्मती सफाइ महाभियानका अभियानकर्मीको पहलमा महानगरपालिकाले जरिवानास्वरुप कारबाही गरेको हो । गत शनिबार ४७१ औँ हप्ताको सफाइका क्रममा सिनामंगलस्थित वाग्मती पुलबाट ५०० मिटर दक्षिण वाग्मती नदी सफाइ अभियानको क्रममा  केही घरधनी र पसलेले पैदल हिँड्ने बाटो छेकी सामग्री राखेको र फोहर फालेको भेटिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । 

सडकमा राखिएका सामग्री पनि महानगरपालिकाको पहलमा हटाइएको छ । रामप्रसाद भुसालले घर अगाडि  फोहर राखेको र ढलसमेत बाटोमा निष्कासन गरेकाले महानगरपालिकाले पाँच हजार जरिवाना गरेको हो ।

अपुरी नामको निजी कम्पनीलाई कारबाही गरी घरधनीलाई फोहर आफैँ व्यवस्थापन गर्न लगाइएको छ । यसै हप्तादेखि महाभियानले सफाइको स्वरुप परिवर्तन गरी फोहर गर्नेलाई जरिवाना गराउन सरोकार भएका निकायलाई सहयोग गर्ने सार्वजनिक गरेको थियो ।

 विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान हालै नौ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको छ । यसै अवसरमा सफाइको स्वरुप परिवर्तन गरिएको हो । 

महाभियानले नदी किनारमा सिसीटिभी राखी फोहर फाल्नेलाई कारबाहीको दायरमा ल्याउन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायत सरोकार भएका निकायको पटकपटक ध्यानाकर्षण गराएको छ ।
रासस