बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

माओवादी केन्द्रका अध्यक्ष दाहाल आदेश पुनरावलोकनका लागि सर्वोच्च जाँदै

काठमाडौँ : नेकपा खारेज गर्ने आदेशविरुद्ध रिट दर्ता गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज सर्वोच्च जाँदैछन् । बिहान ११ बजे अध्यक्ष दाहालसहित माओवादी नेताहरु सर्वोच्च जान लागेका हुन् ।

माओवादी नेता लिलामणि पोखरेलका अनुसार नेकपा खारेज गरेर एमाले र माओवादी ब्युताउने आदेशविरुद्ध पुनरावलोकनका लागि रिट दर्ता गरेर एकताका लागि प्रयास जारी राख्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यसअघि नै निर्णय गरेको थियो ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि दाहाल नेकपाको एकता जोगाउन सक्रिय भएका हुन् । यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको नेकपाका अध्यक्ष ऋषि कट्टेलले ओली र दाहाल अध्यक्ष रहेको नेकपाविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

फागुन २३ गते सर्वोच्चले कट्टेलको रिटमाथि सुनुवाई गर्दै ओली र दाहाल अध्यक्ष रहेको नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको आदेश जारी गरेको थियो ।