बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

केपी शर्मा ओलीको तानाशाही निर्णय अस्वीकार्य छ : भीम रावल

काठमाडौँ  : नेकपा एमालेका नेता भीम रावलले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी साधारण सदस्यबाट निलम्बन गरेको प्रति आक्रोश पोखेका छन् । उनले ट्वीटरमा लेखेर भनेका छन्, ‘केपी शर्मा ओलीको तानाशाही निर्णय अस्वीकार्य छ ।’ रावलले ओलीले कम्युनिष्ट पार्टी एकतामाथि प्रहार गरेको, एमालेको नीति, विधानको खिल्ली उडाउँदै सर्वाेच्च अदालतको फैसलाको अवहेलना गरेको, कथित स्पष्टीकरण पत्र पठाएको आरोप लगाएका छन् । 

‘केपी शर्मा ओलीले पहिलो चरणमा नेपालको संविधान तथा आफैँ हस्ताक्षर गरेको कम्युनिष्ट पार्टीबीचको एकतामाथि प्रहार गर्नुभयो, दोस्रो चरणमा नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाउँदै एवम् सर्वोच्च अदालतको फैसलाको अवहेलना गरी गत फागुन २८ गते गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गराउनु भयो,’ उनले लेखेका छन्, ‘र, तेस्रो चरणमा पार्टी विधान कुल्चँदै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको हाकिमको कुर्सीमा बसेर चार जना नेताहरुलाई कथित स्पष्टीकरण पत्र पठाई पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र मलाई पार्टीबाट निलम्बन गरेको आदेश फर्माउनु भयो । यो पार्टी विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्ध निरंकुश र स्वेच्छाचारी कुकृत्य हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रतिको तावेदारी हो ।’ 

ओली अवैध अध्यक्ष भएको पनि बताएका छन् ।  ‘नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीत कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकोले केपी शर्मा ओलीबाट उक्त निर्णयको भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्दछु’ उनले भनेका छन् ।