जसपामा दुई धार, को बलियो ?

काठमाडौँ : सत्ता समीकरणमा कुन समूहसँग समीकरण गर्ने भन्ने विषयमा जनता समाजवादी पार्टी (जसपा)भित्र विवाद देखिएको छ । गत वैशाख ११ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भएर बनेको जसपाको एउटा समूह प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्नुपर्ने पक्षमा छ भने अर्को प्रतिपक्षमा रहेका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग सत्ता सहकार्य गर्नुपर्छ भनिरहेको छ ।
पूर्वराजपा नेताहरू ओली नेतृत्वकै सरकारमा जानुपर्ने बताइरहेका छन् । उनीहरूले पटक-पटक ओली र नेकपा एमालेका ओली पक्षीय नेताहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष महन्थ ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो र जसपा कार्यदलका लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ बालुवाटार पुगेका थिए । कार्यदल पनि एकलौटी रूपमा भएको भन्दै अर्को समूहले भने विरोध जनाइरहेको छ ।
‘प्रधानमन्त्री ओलीलाई भेट्न पूर्वराजपाका नेताहरुमात्र बालुवाटार जाने र समाजवादीका नेता नजानुले जसपाभित्र दुई धार देखिएको हो ?’ भन्ने इकागजको जिज्ञासामा उनले भने, ‘सबैलाई सबै दिन फुर्सद हुँदैन । त्यसैले फुर्सद नभएर सबैजना नजानुभएको होला ।’
तर, पूर्वसमाजवादी पार्टीेका नेताहरू भने कुनै पनि हालतमा ओली नेतृत्वको सरकारमा जान नहुने बताइरहेका छन् । अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोलगायत नेताहरू ओलीले समस्याको समाधान गर्ने भन्दै उनी नेतृत्वकै सरकारमा जानुपर्छ भनिरहेका छन् । अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने जनप्रतिनिधिहरूको थलो प्रतिनिधि सभा विघटन गर्ने निर्णय गर्ने ओली नेतृत्वमा कुनै पनि हालतमा सरकारमा जान नहुने बताइरहेका छन् ।
पार्टी समायोजनको काम तत्कालीन राजपाका तर्फबाट नाम दिन नसक्दा पूरा नभएको भन्दै समाजवादी पार्टी नेताहरूले आवाज उठाएपछि केन्द्रीय कार्यकारिणी बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो । बैठक स्थगित भएपछि पूर्वराजपा समूहको बैठक बसेर समायोजनको काम टुंग्याउन ५ सदस्यीय कार्यदल पनि बनाएको थियो ।
कार्यकारिणी सदस्य केशव झाले समायोजनको काम बाँकी रहेको स्वीकारे । ‘छलफलमा समायोजनमा समाजवादीतर्फको सबै समिति तयार छन् । राजपातर्फको बाँकी छ । यसको लागि हामीलाई १०-१२ दिन लाग्छ,’ झाले इकाजसँग भने, ‘हामीले समायोजनको काम नसकेकाले बैठक स्थगित गरिएको हो । त्यही दिन तत्कालीन राजपाको बैठक बसेर ५ सदस्यीय कार्यदल बनायौँ । त्यो कार्यदललाई १०-१२ दिनमा सक्ने योजना बनाएका छौं ।’
राजपाभित्र सबै समिति छुट्टा-छुट्टै रहेको उनले बताए । त्यसलाई एउटा समिति बनाउन कार्यदल बनेको हो । ‘कार्यदलले धमाधम काम गरिरहेको छ । दुई-चार दिनमा पुनः बैठक बस्छौं,’ झाले भने ।
जसपाभित्र सत्ता समीकरणको विषयमा दुई धार देखिएको छ । तर, नेताहरू भने त्यो सार्वजनिक रूपमा भन्न स्वीकार्दैनन् । झाले यो विषयमा सत्यता नरहेको बताए । हालसम्म सत्ताबारे पार्टीमा कुनै कुरा नभएको उनले बताए ।
‘हामी सत्तामा जाने भनेको होइन । सत्तामा जाने कुरा नै गरेका छैनौं’, झाले भने, ‘हाम्रो माग-मुद्दा जसले पूरा गर्छ उनीहरुसँग सहकार्य हुन्छ भनेका छौं । सहकार्यको मतलब हामी सत्तामा मन्त्री बन्न जाने होइन । हाम्रो पाँच वटै माग मुद्दा सम्बोधन भयो भने सत्तामा पनि जान सकिन्छ ।’
यता तत्कालीन समाजवादी पार्टीका नेता रामराय यादवले जसपभित्र कुनै विवाद नदेखिएको बताएका छन् । सत्ता समीकरणको विषयमा शीर्ष पाँच नेताहरूले सबै दलहरूसँग कुरा गर्ने निर्णय भइसकेको र सोही अनुसार कुरा भइरहेको उनले बताए ।
‘सत्ता समीकरणबारे पार्टीमा कुनै निर्णय भएको छैन । यसकारण यो विषयमा पार्टीमा एकमत छ । पार्टीले कुनै पनि कदम चाल्दा वा निर्णय गर्दा पार्टी बैठक भएर निर्णय हुन्छ र बैठकबाट जुन निर्णय हुन्छ त्यो निर्णय अनुसार सबै अगाडि बढ्छ,’ उनले भने ।
‘पछिल्लो समय पूर्व राजपाका नेताहरु प्रधानमन्त्रि ओलीलाई भेट्न बालुवाटार जाने, तर समाजवादी पार्टीका नेताहरु त्यसमा सहभागी नहुने देखिएको छ ?’ भन्ने प्रश्नमा नेता यादवले भने, ‘पार्टी निर्णयविना कोही यदि कसैसँग भेट गर्छन् भने त्यो पार्टीको निर्णयअनुसार आधिकारिक भेट मानिँदैन । अब कुनै व्यक्ति भेट गर्छन् भने त्यो फरक कुरा हो ।’
राजपातर्फको सोच
राजपाले आफ्नो माग पूरा गर्ने सरकारलाई बाहिरैबाट सरकारलाई समर्थन गर्न सकिनेसम्मको सोच बनाएको छ । ‘जसरी यस अगाडि राजपाले सरकारलाई बाहिरैबाट समर्थन गरेको थियो’, उनले भने, ‘समाजवादीतर्फका साथीहरुले दुई बुँदे सहमति गरेर मन्त्री बन्नुभयो । तर, राजपाले समर्थन गरेर बाहिरै बस्यो ।’
जसपाको माग मुद्दा पूरा भयो भने बाहिरैबाट सरकारलाई समर्थन गर्ने उनले बताए । जसपाभित्र सत्ता समीकरणको विषयमा ‘स’ पनि उच्चारण नभएको झाले बताए ।
यता रेशम चौधरीको रिहाइलगायतका आफ्ना मागहरूबारे सरकारको आधिकारिक धारणा लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले इकागजलाई जानकारी दिए । साथै महतोले आफ्नो माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूको माग पूरा गर्ने आश्वासन दिएको बताए । ‘हामी हाम्रो एजेण्डामा अडिग छौँ । माग सम्बोधन भएपछि मात्रै हामी कसलाई सहयोग गर्ने भन्नेबारे पार्टीबाट संस्थागत निर्णय गछौँ । प्रधानमन्त्री ओलीले सहयोग गर्ने आश्वासन दिनुभएको छ ।’

पुर्व तयारी र सुचना प्रवाहमा कुनै कमी नहोस्: उर्जा मन्त्री

‘रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्ने आवश्यकता छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

हुम्लाको लिमीमा पहिरोबाट विस्थापित भएकालाई स्थानान्तरण गर्न माग

पानीजहाज विधेयकसम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस

रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया