सोमबार २९ बैशाख, २०८२
Monday, May 12, 2025

तुँवालोले शुक्रबारदेखि सोमबारसम्म २४० हवाइ उडान प्रभावित

काठमाडौँः शुक्रबारदेखि काठमाडौँ उपत्यका र देशका विभिन्न भागमा फैलिएको तुँवालोका कारण भिजिबिलिटी कम भएपछि हवाइ उडानहरू प्रभावित भएका छन् । शुक्रबारदेखि सोमबार २ बजेसम्म बुद्ध एयरका ६५, सौर्य एयरलाइन्सका २०, श्री एयरलाइन्सका २२, यति एयरलाइन्सका ४७ र अन्य वायु सेवाका ३५ उडान प्रभावित भएका छन् । 

अहिले हेलिकप्टरको गोसाइकुण्ड उडानको सिजन भएपनि ३२ उडान रद्द भएको नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए । 
गोसाइकुण्ड उडानका लागि ३२ उडानबाट १६० यात्रुले उडान भर्ने तय भएको थियो । त्यस्तै उद्दार उडानका ११ र अन्य ८ उडान रद्द भएका छन् । 

शुक्रबारदेखि भिजिबिलिटी १,००० मिटर अर्थात् १ किमीभन्दा कम छ । भीएफआर (भिजुअल फ्लाइट रुल्स) बाट लागि कम्तीमा १,२०० मिटर भिजिबिलिटी भए आपत्कालीन उडान भर्न नागरिक उड्ययन प्राधिकरण उडान सुरक्षा मानक विभागबाट अनुमति लिनुपर्छ । यद्यपि यो पाइलटको जोखिममा निर्भर गर्छ । व्यावसायिक उडानका लागि कम्तीमा २,००० मिटर भिजिबिलिटी हुनुपर्छ ।