देशमा डलर छैन, मन्त्रीका लावालस्कर विदेश सयरमा

काठमाडौँ– मित्रराष्ट्र बंगलादेशले विदेशी मुद्रा सञ्चितिमा चाप पर्न सक्ने सम्भावित चापलाई मध्यनजर गरेर सरकारी अधिकारीहरूको अनावश्यक विदेश यात्रालाई प्रतिबन्ध लगाएको छ । पाकिस्तानले पनि अत्यावश्यक आपूर्तिबाहेक आयात प्रतिबन्ध लगाएको छ ।
नेपालमा पनि विदेशी मुद्रा सञ्चितिमा चापलाई मध्यनजर गर्दै ९२ थरी हार्मोनाइज्ड कोड भएका १० प्रकारका वस्तु आयात प्रतिबन्ध गर्नेगरी वैशाख १३ मा राजपत्रमा सूचना नै प्रकाशन गरेको छ । तर देशमा विद्यमान अप्ठ्यारो स्थितिलाई ख्याल नै नगरी मन्त्रीहरू भने लावालस्कर सहित विदेश यात्रामा निस्कदैं छन् ।
हालैमात्र वैशाख १४ देखि १९ सम्म श्रम मन्त्री कृष्णकुमार (किसान) श्रेष्ठ मलेसियाको भ्रमणमा गएर आएका छन् । उनको मलेसिया भ्रमणको कुनै उपलब्धि भएको छैन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार उनी त्यहाँ श्रम बजारको आवश्यकता आँकलन र श्रमिकको सुरक्षाबारे मलेसियाका सम्बन्धित निकायसँग छलफलका लागि गएका हुन् ।
उनी पुनः जेठ ३० गते अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) गभर्निङ बडीको बैठकमा भाग लिन जेनेभा जाने तयारीमा छन् ।
कोभिड–१९ पछि कतिपय बैठकहरू भौतिक उपस्थिति र भर्चुअल दुवैको मिश्रित रूप (हाइब्रीड मोडल)मा सञ्चालन भैरहेका छन् । 'नेपालको विद्यमान अवस्थालाई हेरेर पनि सरकार मितव्ययी बन्नुपर्ने हो र सकेसम्म भर्चुअल माध्यम प्रयोग गर्नु अहिलेको अवस्थामा हितकर हुने देखिन्छ,' अर्थशास्त्री केशव आचार्य भन्छन्, 'सरकार सकेसम्म मितव्ययी हुनुपर्छ । '
तर मन्त्री श्रेष्ठसहित अरु तीन जना मन्त्रीको टोली विदेश भ्रमणमा निस्कदैंछ ।
परराष्ट्र मन्त्री नारायण खड्का जुन १ (जेठ १८) देखि स्वीडेनको स्टकहोममा आयोजित वातावरण सम्बन्धी संस्मरणात्मक सम्मेलनमा भाग लिने तयारी छ । उनी १९ र २० मा त्यहाँ भाग लिनेछन् । स्टकहोममा युरोपमै पहिलो वातावरण सम्मेलन ५० वर्षअघि भएको थियो । त्यसैको संस्मरणात्मक सम्मेलन अहिले आयोजना गरिन लागेको छ, जसमा परराष्ट्र मन्त्री खड्का सहभागी हुनेछन् ।
त्यस्तै, स्वास्थ्यमन्त्री विरोध खतिवडा ‘युएन ग्लोबल रोड टु सेफ्टी’ (महामारीपछि सुरक्षित विश्वको मार्गमा) सम्बन्धी उच्च स्तरीय बैठकमा भाग लिन १६ र १७ असारमा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहने कार्यक्रम तय भैसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को यससम्बन्धी भर्चअल कार्यक्रम २८ अक्टोबर, २०२१ मा सम्पन्न भएको थियो । डब्लुएचओले सन् २०२१ देखि सन् २०३० सम्म सुरक्षित विश्वका लागि एक दशकका कार्ययोजना तयार गरिरहेको छ । मन्त्री खतिवडा यससम्बन्धी भर्चुअल कार्यक्रममा पनि सहभागी भैसकेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडु विश्व व्यापार संगठनको मुख्यालय जेनेभामा हुने मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन जेठको अन्तिम साता स्वीट्जरल्यान्ड जाँदैछन् ।
विदेश यात्रामा जानेहरूको हकमा रेमिट्यान्स पठाउने वैदेशिक रोजगारमा जाने श्रमिकलाई भने राष्ट्र बैंकले भीसा र टिकट प्रस्तुत गरेर २०० अमेरिकी डलर सटही पाउने व्यवस्था गरेको छ । अत्यावश्यक कामका लागि विदेश जाने नेपालीलाई १५०० अमेरिकी डलर (२०० नगद र बाँकी कार्डमा वा आवश्यकताअनुसार), सरकारी कर्मचारीको हकमा ट्राभल अर्डर अनुसार र विशिष्ठ तथा अति विशिष्ठ (भीआइपी र भीभीआइपी)को हकमा भने माग भए बमोजिम हुने व्यवस्था छ ।

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

प्रतिक्रिया