शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

मकवानपुरमा पहिलो पटक वडाध्यक्षमा महिला निर्वाचित

मकवानपुर– स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत मकवानपुरमा पहिलो पटक वडाध्यक्षमा दुई जना महिला निर्वाचित भएका छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नं ५ र १० मा गठबन्धनबाट वडा अध्यक्ष उम्मेदवार बनेका नेपाली कांग्रेसका दुई नेतृ कमला वाईवा र लक्ष्मी जिम्बा विजयी भएर जिल्लामा इतिहास रचेका छन् ।

वडाध्यक्ष निर्वाचित जिम्बा र वाईवा दुबै जना २०७४ सालको स्थानीय तह निर्वाचनमा बकैया गाउँपालिकामा क्रमशः अध्यक्ष र उपाध्यक्षको उम्मेदवार थिए । तर दुवैले चुनाव हारेका थिए ।

मकवानपुर जिल्लामा रहेको १०२ वटा वडाहरुमा हालसम्म २ जना मात्रै महिला वडा अध्यक्षको रुपमा निर्वाचित भएका छन् । हेटौंडाको एउटा वडामा महिलालाई अध्यक्षको उम्मेदवार बनाइएकोमा मत गणना बाँकी रहेको छ ।

गत निर्वाचनमा गाउँपालिका उपाध्यक्षमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी वाइवालाई पछाडि पार्दै एमालेको तर्फबाट उम्मेदवार बनेकी सरला बोलखे विजयी भएकी थिइन् । भने राप्रपाको तर्फबाट पालिका अध्यक्षको उम्मेदवार बनेकी जिम्बालाई कांग्रेसको तर्फबाट उम्मेदवार बनेका दामोदर खनालले जितेका थिए ।

यस पटक दुवै जनाले कांग्रेसबाट वडा ५ र १० को अध्यक्ष जितेका हुन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेकी जिम्बालाई यस पटक गठबन्धनको साथ थियो । बकैया ५ वडाबाट अध्यक्षको टिकट पाएपछि उनले पालिका हाँक्ने योजनाले अब वडा बनाउने बताएकी थिइन् ।

अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनिसकेको भएपनि वडास्तरबाटै विकासको बाटो पहिल्याउन आफूहरु लागिपरेको उनीहरुले बताए । विजयी भएपछि पार्टीभन्दा माथि उठेर आफ्नो गाउँ र टोलको विकासमा लागिपर्ने जिम्बाले बताइन् ।

यता हेटौंडा उपमहानगरपालिकाको वडा ११ मा उम्मेदवार बनेकी अर्की महिला जुना दाहालको भने मतगणना बाँकी छ ।