समाज

काठमाडौँको न्युरोडबाट १ केजी सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ

इकागज |
बैशाख १४, २०८१ शुक्रबार १५:२४ बजे

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ नगदसहित ७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बरामद सुन र रकमसहित पक्राउ परेकाहरूलाई शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर २४ दुछेंननी टोलमा केही व्यक्तिहरूले अवैध सुन कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको कार्यालयको टोलीले १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ नगदसहित ७ जनालाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले जानकारी दिए । उनले पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र दार्चुलाकै २१ वर्षीय आयुष बडू, झापा बिर्तामोडका ३० वर्षीय दिनेश खरेल र २२ वर्षीय भरतराज खरेल रहेको बताए ।


त्यस्तै भारत महाराष्ट्रका ३७ वर्षीय अमोल बिभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते र १८ वर्षीय नै गणेश सतिश बाल्टे पक्राउ परेको डिएसपी केसीले जानकारी दिए ।

पक्राउ परेका गणेश दत्त बडू यसअघि २०७४ भदौ १९ गते ठमेल क्षेत्रबाट बरामद भएको ८८ केजी सुन प्रकरणमा पनि जोडिएक व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्लो घटनामा गिरोहले चीनबाट तस्करी गरेर सुन ल्याएको प्रारम्भिक निचोड निकालेको छ । 


Author

थप समाचार
x