राजनीति

विपिन जोशीको अवस्थाका बारेमा जानकारी पाउन सकिएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

इकागज |
बैशाख २४, २०८१ सोमबार १५:५९ बजे

काठमाडौँ- उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको संख्या अझै यकिन हुन नसकेको बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा श्रेष्ठले रुसमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउन सरकारले पहल गरिरहेको र रुसी सेनामा रहेका नेपालीहरूको संख्या रुस सरकारसँग माग गरिएको जानकारी गराएका हुन् । रुसमा मृत्यु भएका नेपालीहरूको शव नेपाली पठाउने र क्षतिपूर्ति समेत माग गरेको भन्दै उनले क्षतिपूर्तिको विषयमा रुस सरकारले सहमत जनाएको धारणा राखे ।


श्रेष्ठले इजरायल–हमास युद्धमा हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको औपचारिक र आधिकारिक अवस्थाका बारेमा जानकारी पाउन नसकिएको जानकारी दिए । उनले आर्थिक कूटनीतिलाई मात्रै केन्द्रित गर्ने गरी छुट्टै महाशाखा बनाउने तयारी गरेको भन्दै यसबाट बिकास र समृद्धिको कार्यभार पूरा गर्न सहज हुने धारणा राखे ।

परराष्ट्रमन्त्री श्रेष्ठले परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्नेमा सरकार स्पष्ट गरेको जिकिर गरे ।

अहिले संघीय सरकारले नै परराष्ट्र नीति हेर्ने भएकाले प्रदेश तहले पनि आफ्नै परराष्ट्र नीति बनाउन खोजे समस्या हुने उनको भनाइ छ । बैठकमा समिति सदस्यहरूले मापदण्डका आधारमा राजदूत नियुक्त गर्नुपर्ने, रुसमा रहेका नेपालीहरूको अवस्था सार्वजनिक गर्नुपर्ने लगायतका धारणा राखेका थिए । 


Author

थप समाचार
x