समाज

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् पक्राउ

इकागज |
बैशाख २४, २०८१ सोमबार २१:५० बजे

नवलपरासी- पश्चिम नवलपरासीमा श्रीमतीको हत्या गरी फरार रहेको अभियोगमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । रामग्राम नगरपालिका-१६ सबुनीकी ललिता कँहारलाई उनका श्रीमान् जोखन कँहारले गत वैशाख २१ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए ।

प्रहरीले कँहारलाई आज बिहान ८:३० बजे पाल्हीनन्दन गाउँपालिका-६ पडरीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका नवलपरासीले जनाएको छ । श्रीमान‍् श्रीमतीबीच लामो समयदेखि विवाद रहँदै आएको प्रहरी अनुसन्धानले देखाएको नवलपुरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सुदर्शन पन्थीले जानकारी दिए । आठ वर्षअगाडि विवाह भएका उनीहरूको दुई छोरा छन् । 


भारतको महारजगञ्ज जिल्लास्थित नौतनवा माइत भएकी ललिताको श्रीमानसँग ६ महिनाअघि विवाद भएपछि माइतमै बस्दै आएकी थिइन् । पछि उनका श्रीमान् जोखनले सुध्रिने वाचा गरेपछि वैशाख २१ गते श्रीमतीलाई आफ्नै घरमा ल्याएका थिए । सोही दिन राति साढे १० बजे श्रीमतीलाई सुत्ने कोठामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको आरोप छ । 

प्रहरीले अभियुक्त कँहारलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।


Author

थप समाचार
x