प्रमुख समाचार

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप

इकागज | जेठ ४, २०८१

तनहुँ- निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको म्याद एक सय ५५ दिन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको निर्माण म्याद गत वैशाख २ गते सकिएको थियो ।

पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त खण्डमा एक सय ५५ दिन म्याद थप भएको छ । विविध कारणले समयभित्रै काम सम्पन्न हुन नसकेपछि म्याद थपको निर्णय गर्नुपरेको उनले बताए । अब थपिएको म्यादभित्र उक्त खण्डको काम सम्पन्न हुनेमा उनले विश्वास व्यक्त गरे ।

सडक आयोजनाले म्याद थपका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेखी पठाएको थियो । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । 

इन्जिनियर पाण्डेका अनुसार यो खण्डमा हालसम्मको प्रगति ६० प्रतिशत छ । आँबुखैरेनीबाट जामुनेसम्म २२ दशमलव पाँच किलोमिटर चार लेन र सात दशमलव पाँच किलोमिटर दुई लेनमा कालोपत्र सकिएको छ ।

पश्चिम खण्डको म्याद भने विसं २०८१ भदौ १२ गतेसम्म रहेको छ । पश्चिम खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । 

हालसम्म पश्चिम खण्डमा २३ प्रतिशत प्रगति हासिल भएको छ । पश्चिम खण्डअन्तर्गत म्याग्दे, शुक्लागण्डकी र पोखराका केही भागमा एकतर्फी कालोपत्रको काम भइरहेको छ । पश्चिम खण्डका चार ठाउँमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माण गरिनेछ । तनहुँको म्याग्देखोला, कुम्लेखोला, कोत्रेको सेती नदी र विजयपुलमा प्रिकाष्ट प्रविधिबाट पुल निर्माणको काम अगाडि बढाइएको छ । 

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।  चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । रासस

सशस्त्र प्रहरी नायब महानिरीक्षक न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी

इकागज | जेठ ४, २०८१

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेलाई...

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

इकागज | जेठ ४, २०८१

काठमाडौँ- ​राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका कारण संस...

न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको सहयोग जरुरी : प्रधानन्यायाधीश श्रेष्ठ

इकागज | जेठ ४, २०८१

काठमाडौँ- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई भरोसायोग्य बनाउनका लागि सबैको प्रयास जरु...

प्रतिपक्ष दलहरूको बैठकमा राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्न दिनुपर्छ, छानबिन समिति गठन हुनुपर्छ

इकागज | जेठ ४, २०८१

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरूको बैठक...