साहित्य

आमा

शुरज थपलिया | बैशाख २६, २०८१

मायाको अथाह खानी तिमी
कहाँ छन्, ती मूल ?
कोमल अनि प्रेमिल
कस्तो छ, तिम्रो मुटु ?
पुग्न मन छ, मूलमा 
छाम्न मन छ, मुटु
अनि, गर्न मन छ
तिमीले गरेजस्तै माया

भन्नेले भन्छन्, माया उधो बग्छ रे 
मेरो माया उभै लान मन छ
तिमीसम्मै पुग्न मन छ 
अनि,
छर्न मन छ 
मायाका अनगिन्ती रंगहरू
रंगहीन बनाएको तिम्रो मुहारमा
इन्द्रेणी खुशीहरू

कति कति रात 
अनिदो भएको आँखामा
मस्त निद्रा दिन मन छ
म बिरामी परेर कुरेका
रात र दिनहरू
गनी-गनी फिर्ता दिन मन छ
मलाई चाहिन्छ भनेर भोटो र दौरा
सिलाइनौ चौबन्दी चोलो
यो संसारको सारा डिजाइनका कपडा
तिमीलाई पहिराउन मन छ

मन छ मलाई
हाम्रो सम्बन्धलाई
सगरमाथा जस्तै उचाइ दिन 
पीडा अनि दु:खलाई 
समुन्द्र जस्तै शून्य बनाइदिन
रहरहरू तिम्रा फर्कि आए भने
स्कूल अनि कलेज, 
पठाइदिन मन छ

घुम्ने रम्ने सपना 
तिम्रो पनि त थिए होला
लठ्ठीको सहारा आफैँ बनी 
यो संसार घुमाइदिन मन छ 
केही छन् चाहना बाँकी तिम्रा भने
सोधि सोधि,
सबै पूरा गर्न मन छ ।

माया तिम्रो सहारा बनी
फिर्ता दिन मन छ
प्रेम तिम्रो चार गुना बढाएर 
ऋण तिर्न मन छ
दु:ख जति लिएर सबै 
सुख अनि,
सुखानुभूति दिन मन छ ।

फुटेका तिम्रो पैतालामा
मल्हम लगाउन मन छ
दुखेका जिउको 
औषधि गर्न मन छ
खिइएका हड्डीहरू 
आफ्नै दिएर फेर्न मन छ
रोगले ग्रस्त तिम्रो शरीर 
सबै लिएर
तिमी म 
अनि, 
म तिमी बन्न मन छ ।

(मातातीर्थ औंसी– आमाको मुख हेर्ने दिनको अवसरमा सबै आमाहरूप्रति समर्पित)

‘शुरज’

शुरज थपलिया | बैशाख १८, २०८१

संसारलाई उज्यालो पार्न झुल्किन्छौ शीतलता दिन अस्ताउँछौ चराचर जगतलाई जीवित राख्न जाग्छौ अनि साँझ कतै ब...

हाइकुहरूको संग्रह ‘शाडेनफ्रोएडा’ लिएर उपस्थित भए कवि विप्लव प्रतीक

इकागज | चैत १७, २०८०

काठमाडौँ- लेखनका विविध विधामा कलम चलाउँदै आएका कवि विप्लव प्रतीक अब हाइकु संग्रह लिएर उपस्थित भएका छन्...

एसक्युसी

एसक्युसी जब हुन्छ घर घरमा, देशै समाजै भरी स्कुलमा हुनेछ गुणीय शिक्षा सोचेभन्दा बेस्सरी । विद्यार्थी ग...