हलिउड/बलिउड

टम र विलेमको शेर्पासम्बन्धी चलचित्र 'तेन्जिङ' को प्रदर्शनका लागि एप्पलसँग सम्झौता

इकागज | जेठ ४, २०८१

काठमाडौँ- सगरमाथा क्षेत्रमा बसोबास गर्ने शेर्पासम्बन्धी चलचित्र 'तेन्जिङ' को विश्वव्यापी प्रदर्शनका लागि एप्पल ओरिजिनल फिल्म्ससँग सम्झौता भएको छ ।

डेडलाइन डटकमले जनाएअनुसार टम हिडलस्टोन र विलेम डाफो अभिनित चलचित्र तेन्जिङको विश्वव्यापी प्रदर्शनको अधिकार एप्पल ओरिजिनल फिल्म्सले पाएको हो ।

ओस्कार-विजेता (द किंग्स स्पीच) निर्माता सी-स फिल्म्सले तेन्जिङ नोर्गे शेर्पाको प्रेरणादायी जीवन तथा उनले सन् १९५३ मा न्यूजिल्यान्डका सर एडमन्ड हिलारीसँग मिलेर गरेको सगरमाथा आरोहणको बारेमा चलचित्र तेन्जिङ निर्माण गर्न लागेको हो ।

चलचित्रमा टम हिडलस्टनले सर एडमन्ड हिलारीको रूपमा अभिनय गर्नेछन् र चार पटक ओस्करमा मनोनीत भएका विलम डाफोले  बेलायती आरोही कर्नल जोन हन्टको अभिनय गर्ने भएका छन् ।

तर चलचित्रका लागि तेन्जिङ नोर्गे शेर्पाको मुख्य भूमिका निर्वाह गर्ने कलाकारको खोजी भइरहेको बताइएको छ ।

ल्यूक डेभिसको लेखन रहेको चलचित्रको निर्माताहरू सी-स फिल्म्स बाट लिज वाट्स, एमिल शेरम्यान र इयान क्यानिङसँगै डेस्रे आर्मस्ट्रङ, जेनिफर पीडम र ल्यूक डेभिस पनि रहेका छन् ।

चलचित्रको कार्यकारी निर्माताहरूमा साइमन गिलिस, डेभिड मिचोड र नोर्बु तेन्जिङ रहेका छन् ।

शेर्पा नामक डकुमेन्ट्री निर्माण गरेसँगै तेन्जिङ परिवार र शेर्पा समुदायसँग घनिष्ठ सम्बन्ध बनाएकी जेनिफर पिडमले तेन्जिङ चलचित्रका लागि पहल गरेकी हुन् ।