पर्यटन

२९औँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता

इकागज |
बैशाख १९, २०८१ बुधबार १८:६ बजे

काठमाडौँ - सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा आफ्नै कीर्तिमानी तोड्ने तरखरमा छन् । 

गत वर्ष सगरमाथा चुचुरोमा २८औँ पटक पाइला टेकेका उनी यस वर्ष २९औँ पटक आरोहणको तयारीमा छन् । सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसकेका छन् । 


वसन्त यामको सगरमाथा आरोहणका लागि एकसाताअघि काठमाडौँबाट लुक्ला, नाम्चे हुँदै सगरमाथा आधार शिविर पुग्नुभएका कामिरिताले भने, “यो वर्ष २९औँ पटक सगरमाथा आरोहणमा जान लागेको हुँ । यति, उति पटक आरोहण गर्छु भन्ने कुनै योजना छैन चुचुरोतिर जाउँ कति सकिन्छ ।” करिब २८ जनाको आरोही समूहसँगै सगरमाथाको चुुचुरोतिर लाग्ने तरखरमा रहेका आरोही कामिरिताले जानकारी दिए । सेभेन समिट ट्रेक्स प्रालिमार्फत उनी आरोहणका लागि शिखरतर्फ जाने तयारीमा छन् ।

 सेभेन समिट ट्रेक्सका अध्यक्ष अध्यक्ष मिङमा शेर्पाले आफ्नो कम्पनीमार्फत कामिरिता २९औँ आरोहणका लागि आधार शिविर आइपुगेकाे बताए । उनका अनुसार अहिले अधिकांश आरोही सगरमाथा आधार शिविर पुगेका छन् । उनीहरु आरोहण गर्ने उपयुक्त समयको प्रतीक्षामा छन् । सेभेन समिटमार्फत मात्रै ८० आरोही सगरमाथा आरोहणका लागि गएका छन् । खासगरी कामिरिताले आरोहीको पथप्रदर्शकका रुपमा सगरमाथा आरोहण गर्दै आएका छन् ।

 सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिएका ५४ वर्षीय उनले यसवर्ष सफल आरोहण गरेमा आफ्नै कीर्तिमानी तोडिनेछ । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हुन् ।


Author

थप समाचार
x