समाज

उपल्लो मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

इकागज |
जेठ ४, २०८१ शुक्रबार १७:२८ बजे

फाइल तस्बिर

गण्डकी- अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङको लोमान्थाङमा नयाँ प्रजातिको चरा भेटिएको छ ।

नेपाल पन्छीविद् सङ्घका अनुसार उक्त चरालाई ‘फुस्रो सारौँ’ अभिलेख गरिएको छ । चराविद् शङ्कर तिवारीले पदयात्राका क्रममा गत वैशाख २५ गते बिहान ८ः४९ बजे उक्त चरा देखेको नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा तुलसी सुवेदीले जानकारी दिए ।


कमिटीले चराका तस्बिर र विवरणको अध्ययन तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय चराविद्सँगको राय सुझावका आधारमा नयाँ प्रजाति पहिचान गरेको हो । चराविद् तिवारीले अवलोकनका क्रममा भेटाएको सो चराको अङ्ग्रेजी नाम ‘ह्वाइट चिक्ड स्टार्लिङ’  र वैज्ञानिक नाम ‘स्पोडायोप्सर सिनेरासियस’ रहेको जनाइएको छ ।

यो चरा उत्तर र पूर्वी एसियाका चीन, जापान, मङ्गोलिया, उत्तर कोरिया, रुस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा आवसीय रुपमा पाइने सङ्घले जनाएको छ । लाओस, म्यानमार, फिलिपिन्स र थाइल्यान्डमा फिरन्ते चराका रुपमा रेकर्ड भएको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योसँगै नेपालमा चराका प्रजातिको सङ्ख्या आठ सय ९५ पुगेको जनाइएको छ । नेपालबाट सबैभन्दा नजिक चीनका विभिन्न ठाउँमा यो चरा पाइने गरेको छ । यो चराले जाडोमा दक्षिणतिर बसाइँ सर्ने र दक्षिणपूर्वी चीन, ताइवानमा जाडो बिताउने गरेको चराविद् बताउँछन् । लोमान्थाङमा रेकर्ड गरिएको उक्त चरा प्रजनन क्षेत्रमा फर्कने बाटोमा फिरन्तेका रुपमा आइपुगेको अनुमान गरिएको छ । रासस


Author

थप समाचार
x