मानवीय सेवाका लागि बेलायतमा डेढ करोड जुटाएर फर्किइन् गायिका आनी छोइङ
काठमाडौँ- मानव सेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख रकम जुटाएर वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा नेपाल फर्किएकी छन् । सङ्गीतको माध्यमबाट विश्वभर शान्तिको सन्देश छर्दै आएकी प्रसिद्ध आनी छोइङ डोल्मा मानव सेवा आश्रमको २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने संकल्पलाई सघाउन बेलायत पुगेकी थिइन् ।
गत वैशाख २३ गते बेलायतको क्याम्वर्लीस्थित कन्ट्री क्लबको हलमा आयोजित ‘इनर मेलोडी फर इनर पिस लाइभ कन्सर्ट’ र त्यसलगतै विभिन्न स्थान आयोजना भएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट मानव सेवा आश्रमको सेवा सहजताका लागि सो सहयोग जुटेको गायिका आनी छोइङ डोल्माले बताइन् । मानवीय कार्यमा आश्रमसँग सहयात्रा गर्न र मानवता प्रवर्द्धनमा सघाउन पाउँदा खुसी व्यक्त गर्दै उनले आगामी दिनमा समेत आश्रमसँग मानवीय कार्यमा सहयात्रा गर्ने प्रतिबद्धता जनाइन् ।
संकलित रकममध्ये रु ५२ लाख टिकट बिक्रीबाट, २० लाख स्पोन्सरबाट र ८ लाख ४१ हजार रुपैयाँ आनी छोइङ ड्रोल्माको अटोबायोग्राफी पुस्तक फूलको आँखामा बिक्रीबाट संकलन भएको छ । यस क्रममा पाँच जनाले मानव सेवा आश्रमले नेपालको विभिन्न जिल्लामा निर्माण गरिरहेको भवन निर्माणको लागि एक कोठा निर्माण सहयोग स्वरूप रु पाँच लाख ११ हजार एक सय ११ र ३२ जनाले आजीवन वार्षिक भोजन सेवा सदस्यता ग्रहण गरी मानव सेवा आश्रमको अक्षय कोष वृद्धिका लागि रु एक लाख ११ हजार एक सय ११ योगदान गरेका छन् । यस्तै मासिक रु आठ हजार योगदान गर्ने गरी १७ जना बालबालिकाको र मासिक पाँच हजार योगदान गर्ने गरी पाँच आमाबुबाको मासिक खर्च व्यहोर्ने भएकी छन् ।
कन्सर्टसँगै बेलायतस्थित नेपाली दूतावास, स्कटल्याण्डको ग्लास्को र एडिनब्रा, अल्टरसट गुम्बा, रिडिङ गुम्बा र प्लम्स्टिड गुम्बा, शिव मन्दिर अल्डरसट र बेलायतस्थित श्रीलङ्काको दूतावासमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना भएको थियो । प्रसिद्ध गायिका आनी छोइङको कन्सर्ट र बेलायत यात्राले मानव सेवा आश्रमको सेवा प्रवाहमा टेवा पुर्याउने मानव सेवा आश्रम बेलायत च्याप्टर संयोजक सुनिलबाबु खड्काले बताए ।
मानव सेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले मानव सेवा आश्रम युके च्याप्टरले सम्पूर्ण बेलयतवासी नेपालीहरूको मन जित्न सक्ने गरी कन्सर्ट आयोजना गरी लक्ष्यअनुसारकै सहयोग जुटाउन सकेकोमा धन्यवाद दिँदै २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त देश घोषणा गराउन सकेको साथ र सहयोग आवश्यक पर्दछ भने ।
मानव सेवा आश्रमले २०८२ सालभित्र नेपाललाई खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर) सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने संकल्प लिएको छ । उक्त संकल्पलाई पूरा गर्न देशको सात प्रदेशका १९ जिल्लामा २४ सेवा केन्द्र सञ्चालनमा ल्याई ७७ ओटै जिल्लाबाट सहयोगापेक्षीहरूको उद्धार गर्दै आइरहेको आश्रमले हालसम्म १० हजार बढीको उद्धार गरी मानवोचित व्यवस्थापन गरिसकेको छ भने हाल देशरभर रहेका आश्रमका सेवा केन्द्रहरूमा एक हजार छ सय ५३ जना संरक्षणमा रहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया