समाज

काठमाडौँ महानगरको स्वर्णिम योजना: करिडोर र खोला सफाइमा ७ करोड खर्च

धोबी खोलामा दैनिक ५५ जनाले झार टिप्दै

अतिन आचार्य |
बैशाख १८, २०८१ मंगलबार १७:५३ बजे

काठमाडौँ- पछिल्लो केही महिना यता काठमाडौँ महानगरपालिकाले नियमित नदी तथा खोला सरसफाइको अभियानलाई निरन्तरता दिएको छ । महानगरभित्र भनौं या सहरको बीच भाग भएर बग्ने नदीखोलालाई जीवन्त राख्‍न पनि सरसफाइ गरिरहेको छ ।

खोलालाई काठमाडौँ महानगरको नगरसभाले आर्थिक वर्ष २०८०/०८१ को स्वर्णिम योजना अन्तर्गत महानगरभित्रका खोलानाला सरसफाइ थालेको हो । महानगरभित्रका करिडोरदेखि खोलानदी सफाइमा पर्छन् ।


महानगरले स्वर्णिम योजनाका अन्तर्गत नदी सरसफाइ कार्यक्रमका लागि ७ करोड रुपैयाँको व्यवस्था गरिएको छ । ७ करोडमा आकस्मिक एक करोड नदी सरसफाइलाई भनेर व्यवस्था गरेको छ ।

बागमती बाहेक काठमाडौँ महानगरमा ८ नदी तथा खोलाहरू पर्छ । विष्णुमती, टुकुचा, इच्छुमती, भजखुसी, परोखुसी, मनोहरा, धोबीखोला र बल्खु पर्छन् । जेठसम्म सबै खोला सफा गर्ने तयारी गरेको छ । मनसुन सकिएपछि पुनः सफाइ गर्ने गरी काम गरिरहेको छ ।

गत असोज ३० गतेदेखि करिडोर सफाइ थालेको थियो । करिडोरको ३२ किलोमिटर सडक ९ हजार २०७ सफाइ कर्मचारीले सफाइ गर्न सुरु गरिसकेका छन् । सुरुमा नदी सफा गर्न गाह्रो हुने भएकाले महानगरभित्रका करिडोर सफा गरिएको स्वर्णिम योजनाका फोकल पर्सन सानुमाया महर्जनले जानकारी दिइन् । सफाइ गर्नुपर्ने नदीको लम्बाइ भने ३२ किलोमिटर रहेको उनले बताइन् ।

उनका अनुसार ९ वटा नदीका करिडोर सफा गरिएको छ । करिडोर सफाइमा ९ हजार २०७ जना सफाइ कर्मचारी प्रयोग गरिएको छ । २५ देखि २६ सय टन फोहोर निकालिएको छ । खोला छेउका बाटा सफा गरिएको हो ।

‘खोलामा पसेर फागुन २० गतेबाट सफाइ थालिएको हो,’ महर्जनले भनिन्,’  टेकु विष्णु दोभानबाट सफाइ गर्न थालिएको हो । सुरुमा विष्णुमतीमा १०-१५ जना लगाएका  थियौँ ।‘

चैत १८ गतेबाट ५५ जनालाई धोबी खोलामा राखी सफाइ अगाडि बढाइएको उनले बताइन् । ५५ जनाको संख्या राख्नुको कारण धोबी खोला पटक पटक सफा भइसकेको खोला हो,’ उनले अगाडि थपिन् ।

धोबी खोलाको फोहोर नभइ माथि मुहानबाट आएको उनको भनाइ छ । फोहोर टिपेर साइड-साइडमा राख्‍ने गरिएको उनले बताइन् ।

‘कुनै पनि फोहोर निकालिएको छैन । सफाइ कर्मचारीले सहजै फोहोर निकाल्न सक्दैनन्,’ उनले प्रस्ट पारिन्,’ ९० दिनसम्म धोबी खोलाको सफाइ रहन्छ । ९० दिनसम्म जति सक्छ त्यति काम गर्छन् । हामीले भ्याएसम्म अरु मानिस पनि राखेर सफाइ गर्नेछौ ।‘

खोलाबाट बालुवा, ढुंगा र माटो निकाल्दैनौ अन्य आँखाले देख्नेगरी खोलामा भएका सबै फोहोर निकाल्ने गरिएको महर्जनले सुनाइन् । फोहोर निकाल्न सकिने ठाउँबाट मात्र मानिसले फोहोर निकाल्ने र नसकेमा स्क्याभेटरबाट फोहोर निकालिने गरिएको उनले जानकारी दिइन् ।

धोबी खोलाको बिहान ७ देखि २ बजेसम्म सफाइ हुन्छ । महानगरपालिकाले खोला सफाइ गर्न भनेर स्क्याभेटरका लागि भनेर ७० लाखको टेण्डर गरिसकेको छ  । स्क्याभेटर खरिद गर्न सम्झौता भइसकेको र यो महिनाभित्रमा स्क्याभेटर पनि आउँछ ।

एकैपटक चार-पाँच वटा स्क्याभेटर लगाएर काम गर्ने महानगरले बताएको छ । आवश्यकता अनुसार सबै खोलामा स्क्याभेटर लगाउने फोकल पर्सन महर्जनले बताइन् । धोबीखोलामा स्क्याभेटर लगाउन नपर्ने उनले उल्लेख गरिन् ।

‘धोबीखोला पटक-पटक सफा भइसकेको छ। महानगरपालिकाले मात्र सफा गरेर खोलानाला सफा हुँदैन,’ उनले इकागसँग भनिन्,’ माथिल्लो भेगका नगरपालिकाले आफ्नो नगरपालिकामा परेको खण्डमा सबैले सफा गर्नुपर्छ । सबैले आफ्नो क्षेत्रमा परेका खोलाको सफाइ गर्दा राम्रो हुन्छ । एउटाले गरेर मात्र हुँदैन ।‘

त्यसैगरी सानातिना सरसफाइको औजार सामान खरिद गर्न ६९ लाख ६५ हजारको टेण्डर भइसकेर सम्झौता भइसकेको फोकल पर्सन महर्जनले जानकारी दिइन् ।  

महानगरपालिका भित्रका खोला सफाइ गर्न भाडामा स्कयाभेटर प्रयोग भइरहेको छ । स्क्याभेटर खरिद भइसकेपछि भाडामा ल्याउनु नपर्ने उनले जानकारी दिइन् ।

हाल महानगरले बागमती सफाइ आयोजनाले पठाएको स्क्याभेटर प्रयोग गरिरहेको  छ । सार्वजनिक विदाको दिन बाहेक १० देखि ५ बजेसम्म डोजर चलिरहेको छ । हाल विष्णुमती र धोबीखोला सफाइ भइरहेको उनले जानकारी दिइन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x