सुदूरपश्चिम

नयाँ हौँ भन्नेहरू र राजा ल्याउछौं भन्नेहरूको अवस्था पनि उपनिर्वाचनबाट थाहा भयो : ज्ञवाली

इकागज |
बैशाख १९, २०८१ बुधबार १३:३९ बजे

फाइल तस्बिर

बैतडी- नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमालेको लोप्रियता प्रमाणित गरेको बताएका छन् ।

पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी आएका ज्ञवालीले इलाममा विजय कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रैछ भन्ने प्रमाणित भएको बताएका हुन् । उनले यो उपनिर्वाचनले नयाँ हौँ भन्नेहरू र राजा ल्याउछौं भन्नेहरूको अवस्था पनि थाहा भएको बताए ।


'इलाम र बझाङको निर्वाचनले नयाँ हौँ भन्नेहरूको अवस्था पनि देखियो, राजा फर्काउछौं भन्नेहरूले हजार भोट पनि कटाउन सकेनन्,  ज्ञवालीले भने । उनले पानी कति तातो चिसो छ भन्ने थाहा पाउन एउटा औंला डुबाएर परिक्षण गर्दा थाहा हुने बताउँदै यो चुनावले एमालेको अवस्था थाहा भएको दाबी गरे ।

कार्यकर्ताहरू माझ उनले यो चुनावले एमालेलाई उत्साहित बनाएको र यो उत्साहलाई पार्टी निर्माणमा लगाउनुपर्ने धारणा राखे । नेता ज्ञवालीले एमालेलाई चुम्बक जस्तो बनाउने बताउँदै 'जसका वरिपरि सबै सक्कली कम्युनिष्टहरू, सक्कली देशभक्तहरु टासिन आउने' बताए ।

नेता ज्ञवालीसँगै पार्टीका स्कुल विभागका सचिव घनश्याम कोइराला, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पुर्व मुख्यमन्त्री राजेन्द्र रावल, पोलिटब्युरो सदस्य निरु पाललगायतका नेता बैतडी आइपुगेका छन् ।


Author

थप समाचार
x