बागमती

संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : माधव नेपाल

इकागज |
बैशाख २०, २०८१ बिहीबार ७:१३ बजे

फाइल तस्बिर

चितवन- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  माधवकुमार नेपालले संविधान र गणतन्त्र समाप्त गर्ने शक्तिको चलखेल हुन थालेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) चितवनको १० औँ जिल्ला अधिवेशनको बुधबार उद्घाटन गर्दै उनले संविधान र गणतन्त्रको रक्षाका लागि यसको पक्षमा रहेका शक्तिहरु एक हुनुपर्ने बताएका हुन् ।


उनले भने, “संविधान र गणतन्त्रको विरोधी शक्तिसँग हातेमालो गर्न सकिँदैन ।” अहिले पार्टी गठबन्धनमा रहेको भए पनि चैन भने नरहेको भन्दै उहाँले आक्रोश पोखे । उनले भने, “केही विमति छन् । कहिले के हुन्छ भन्न सक्ने अवस्थामा छैन ।” देशलाई समृद्धिको यात्रामा लैजान पहिला जनतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनले बताए ।

समाज परिवर्तन र बेथिति अन्त्यका लागि पार्टीका कार्यकर्ता लाग्नुपर्ने उनले बताए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै नेतृत्व तह सुध्रिएर आए आफूहरु एकताको पक्षमा रहेको बताए ।

वामपन्थी शक्ति एकताबद्ध गर्नका लागि समाजवादी मोर्चा गठन गरिएको बताउँदै उनले विचार, सोच मिल्ने शक्तिसँग एकताबद्ध बनाउन सकिने बताए । एकताका लागि आत्मसमीक्षा, खुल्लापन र इमान्दारिता आवश्यक पर्ने उनले बताए ।

नेपालका कम्युनिस्ट दलमा अहिले खिया लागेको उनले बताए । उनले भने, “कम्युनिस्ट दलहरुमा लागेको खिया हटाउन हामी आएका हौँ ।” अहिलेको राजनीतिमा कम्युनिस्ट आन्दोलनको विषयमा बहस हुन आवश्यक रहेको उनले बताए ।


Author

थप समाचार
x