दल

उपनिर्वाचनमा भाइ-भतिजा उम्मेदवार प्यारो बन्दा ढल्यो रुख

दुर्गा आचार्य |
बैशाख २१, २०८१ शुक्रबार ११:४५ बजे

काठमाडौँ- केही दिनअघि मात्र इलाम र बझाङमा उपनिर्वाचन सम्पन्न भयो । दुई स्थानमा नै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । इलाम २ बाट सुहाङ नेम्वाङ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश (क) मा दमनबहादुर भण्डारी विजयी भएका हुन् ।

समग्र निर्वाचनको परिणामले केही सन्देश दिएको छ । नागरिकहरू आज पनि विधि र विधानलाई मान्छन् । दोस्रो भनेको नयाँ दल भन्दा पुराना दलहरू अझै पनि मजबुत रहेको सञ्चार फैलिएको छ । विवादलाई भन्दा पनि विचारको खोजी गर्छन् भन्ने कुरालाई यो मतपरिणामले पुष्टि गरेको छ ।


नेकपा एमाले र नेपाली कांग्रेसलाई नै जनताले मत दिएका छन् । खासमा दुवै जिल्लामा नेकपा एमाले पहिलो र दोस्रोमा नेपाली कांग्रेस रहेको मतले पुष्टि गर्‍यो । यसको अर्थ अहिले पनि पुराना दलको मत बलियो रहेको सहजै अनुमान गर्न सकिन्छ । किनभने मतपरिणामले आधार प्रस्तुत गरिसकेको छ ।

आम मतदातामा भने केही फरक विचार पैदा भएको कुरा इलामको निर्वाचन परिणामले दिएको छ । जहाँ पहिचान पक्षधरको मतले स्थान पाएको छ । जुन प्रदेशमा पहिचान पक्षधरले आफ्नो आवाज सशक्त बनाउँदै लगेका छन् । प्रदेश १ को नाम कोशी प्रदेश राखिएपछि पहिचानको मुद्दालाई नागरिकले अझ बलियो बनाउने प्रयत्‍न गरेका छन् ।

यो उपनिर्वाचनले नेकपा एमालेले शानदार रुपमा आफूलाई प्रस्तुत गर्यो । इलामका साथसाथै यसअघि पराजित भएको बझाङ पनि आफ्नो पोल्टामा पार्न सफल भयो ।

तर, कांग्रेसले इलाममा हार्दै यसअघि विजयी भएको बझाङसमेत गुमाउन पुग्यो । एमालेले आफ्नो प्रतिष्ठाको रुपमा हेरेको चुनावलाई कांग्रेसले किन अपनत्व गर्न सकेन त ?  

न्यायोचित टिकट वितरण भएन

उपनिर्वाचनको सबैभन्दा रोचक पक्षको कुरा लेखौँ । लोकतन्त्रको सबैभन्दा बढी अभ्यास गर्ने दलको रुपमा नेपाली कांग्रेसलाई लिइन्छ । तर, यसपटकको निर्वाचनमा पनि पटक-पटक पराजित भइसकेका उम्मेदवार डम्बर बहादुर खड्कालाई टिकट दियो ।  इलामबाट धेरै आकांक्षी उम्मेदवार थिए । तर उनै खड्काले टिकट हात पार्न सफल भए । त्यहाँ मात्र होइन  बझाङमा पनि कांग्रेसले यसअघि पराजित भएका व्यक्तिलाई टिकट दियो ।

जहाँ उनीहरुलाई स्थानीय मतदाताले असफल सावित गरिसकेका थिए । यसअघि पराजित भइसकेका उम्मेदवारलाई टिकट दिनु नै कांग्रेसका उम्मेदवार हार्नु मुख्य कारण रहेको मान्‍न सकिन्छ ।

खड्का सभापति शेरबहादुर देउवा पक्षधर मानिन्छन् । देउवा यसअघि (२०७९) नै टिकट पाएर चुनावमा पराजित भएका खड्कालाई टिकट दिन चाहन्थे । अर्का नेता डा. शेखर कोइराला पक्षले अर्कै उम्मेदवारलाई टिकट दिनुपर्छ भनेर लबिङ गरेका थिए । उनी भने हारेकालाई नदिउ भन्दै भेषराज आचार्यलाई टिकट  दिलाउन चाहन्थे ।

नयाँ अनुहार लिएर जनतामाझ जाँदा मत र मन माग्दै चुनाव जित्‍न सजिलो हुने शेखरको बुझाइ थियो । जिल्लामा खड्काभन्दा भेषराज रुचाइएका पात्र थिए । इलाम जिल्ला कार्यसमिति र कांग्रेस कोशी कार्यसमितिले समेत आचार्य टिकट पाउन योग्य भन्दै पहिलो नम्बरमा सिफारिस गरेका थिए ।

टिकट वितरणका लागि बुढानिलकण्ठस्थित देउवानिवासमा भएको बैठकमा शेखरले आचार्यलाई टिकट दिन पटक पटक आग्रह गरे । देउवाले आफूले भनेका व्यक्तिहरूलाई टिकट नदिने मनस्थिति बुझेका शेखरले एउटा बैठकमा आचार्यलाई टिकट नदिए हारको जिम्मा पनि सभापति देउवालाई लिन भन्दै बाहिरिएका थिए । तर, देउवा टसमस भएनन् ।

यता, बझाङको टिकट वितरण पनि न्यायोचित भएन । त्यहाँ जगत जोशी, सत्यराज भण्डारी, नन्दकृष्ण जोशी र अभिषेक बहादुर सिंह टिकटका लागि प्रतिस्पर्धामा थिए । अन्तमा सिंहले टिकट फुत्काए । कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन् बझाङमा सिंहबाहेक अन्य जो कोहीलाई टिकट दिएको अवस्थामा  जित्थे तर ती सबै शेखर पक्षका थिए ।

गठबन्धन हुँदासमेत वडाअध्यक्षमा तेस्रो भएका  र देउवा पक्षका कारण सिंहले टिकट पाए । सभापति देउवाले बुबा आमा दुवै गुमाएको भनेर टिकट दिएको उनले बताए । 'उपनिर्वाचनमा पनि कांग्रेसले यसअघिका निर्वाचनमा जस्तै स्थानीय नेता कार्यकर्ताका चाहनालाई लात मार्यो', ती नेताले भने, केन्द्रीय नेताकै चाहना टिकट वितरणमा लाग्यो । जनताले मतले देखाइदिए ।'

हारेकालाई किन टिकट बाँडियो ?

इलाममा टिकट पाएका खड्का २०७४ मा इलाम-२ प्रदेश सभा–'क' मा पराजित भएका थिए । त्यस्तै २०७९ को संघीय निर्वाचनमा इलाम २ बाट उनी एमालेका सुवास नेम्वाङसँग पराजित भएका थिए । तत्कालीन गठबन्धन हुँदासमेत उनी १४६ मतान्तरले पराजित भएका थिए ।

त्यतिबेला खड्काले २९ हजार ९०६ मत पाएका थिए भने नेम्वाङले ३० हजार २० मत पाएका थिए । अहिलेको उपनिर्वाचनमा खड्काले २१ हजार ९४२ मत पाएका छन् । एक्लै लडेको काँग्रेसले यति मत पाउनु राम्रो भए पनि जितका लागि पर्याप्त भएन ।

यता, बझाङमा सिंहले नै टिकट पाउनुपर्नेमा देउवाले अडान लिएका थिए । उनको बुबा तत्कालीन सुदूरपश्चिम प्रदेशका मन्त्री पृथ्वी बहादुर सिंह र आमा दुवैको सडक दुर्घटनामा निधन भएको थियो । सिंहले सहानुभूति मत पाउने धेरैले आशा गरेका थिए

कांग्रेसले एकपटक टेस्ट भइसकेका नेताहरूलाई नै पुन टिकट दिँदा पराजय व्यहोर्नुपरेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । दुई वर्ष अघि पराजित भएका नेतालाई पुन टिकट दिनु एक कारण मान्न सकिने ती नेताले इकागज बताए । ‘के नयाँ देखेर जनताले पनि मत दिनु,’ उनले भने,’सभापति देउवा र उपसभापति पूर्ण बहादुर खड्काको जोडबलकै कारण हारेकाहरूले टिकट पाएका थिए ।‘

उम्मेदवारको व्यक्तिगत कारण

उपनिर्वाचनमा कांग्रेस पराजित हुनुमा उम्मेदवारको व्यक्तिगत कारण भएको इलामका जिल्लास्तरका एक नेता बताउँछन् । खड्का निर्माण व्यवसायी हुन् । उनले धेरै कामहरू अलपत्र छाडेका छन् । उनी देखेर मत दिउ दिउ भन्दा पनि नदिउ लाग्ने व्यवहार छ,’  ती नेताले भने, ‘त्यसैले रुखलाई दिने मतबाहेक अन्य तान्न नसकिएको हो ।'

अघिल्लो चुनावमा पराजित भएपछि खड्काले धेरै नेता कार्यकर्तालाई अभद्र व्यवहार गरेका थिए । त्यो बिर्सन नपाउँदै फेरि उनै खड्काले टिकट पाएपछि कति नेता कार्यकर्ता खटिएर उपनिर्वाचनमा नहोमिएको उनले बताए । 

'जहाँ मत माग्न गयो हाम्रो पैसा कहिले आउँछ डम्बर दाई भन्थे', ती नेताले भने 'मुख लुकाएर भाग्नुपर्ने अवस्था देखिएको थियो । खड्काले टिकट पाउँदा कांग्रेसको माहोल राम्रो बन्नै सकेन । माहोल बनाउन कोही अग्रसर पनि भएनन् ।'

केन्द्रबाट खटिएका महामन्त्री विश्वप्रकाश शर्मासमेत लागिपर्दा पनि राम्रो माहोल बन्न नसकेको उनले बताए । ‘जित्ने चुनावको छुट्टै माहोल हुन्छ,’ उनले भने, ‘हार्ने भन्ने चुनाव अगाडि नै देखिसकेको थियो '

गठबन्धन बन्यो घातक
उपनिर्वाचनमा कांग्रेस एक्लै होमिएको थियो । इलाम-२ एमालेको कोर एरिया हो । यहाँ अहिलेसम्म कांग्रेसले जित्न सकेको छैन । एमालेको बलियो संगठनका अगाडि कांग्रेसको केही नलागेको कांग्रेसका कोशी प्रदेशका एक नेताले बताए । 

‘कांग्रेसको केन्द्रीय नेतृत्वले पनि यो क्षेत्रलाई चासोको साथ हेरेको थियो', उनले भने, 'केन्द्रीय नेताहरु धेरै इलाम पुगेका थिए तर परिणाम भने निस्किएन ।'

कांग्रेस नेता डा. शेखर कोइराला, सचेतक मीन विश्वकर्मा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत धेरै केन्द्रीय सदस्य इलाम पुगेका थिए । तर उनीहरुले अन्य दल मुख्यगरी एमालेको मत काट्ने रणनीति भने बनाउन सकेनन् ।

शेखरले इलाम पुगेर किराँत धर्मगुरुलाई भेटे । उनले निर्वाचनको माहोल बदल्न चाहन्थे । जसले गर्दा कांग्रेसको तर्फबाट उम्मेदवार बनेका खड्काको मत बढ्न सकोस् । तर, ती सबै निर्वाचन जित्न पर्याप्त भएनन् ।

कांग्रेस नेतालाई नलागेको चुनाव 

उपनिर्वाचनबारे सभापति देउवाले 'चु' पनि उच्चारण गरेनन् । उनी न इलाम नै गए । उपसभापित खड्काले पनि इलाम टेकेनन् । अर्का उपसभापति गुरुङ झापाको एक छेउको कार्यक्रम सकेर फर्किए । उनले इलामको भित्र भित्र पुग्नै चाहेनन् ।

महामन्त्रीद्वयमध्ये शर्मा चुनावी कमाण्डर थिए । तर उनको व्यवस्थापन निकै फितलो भएको इलामका एक जिल्लास्तरका नेताले बताए । 'उहाँले सकेको गर्नुभएको होला', उनले भने, 'तर त्यसले एमालेको गढ मानिएको स्थानमा चुनाव जित्न पर्याप्त थिएन ।'

यता, अर्का महामन्त्री गगन कुमार थापा इलाममा चुनावको माहोल तातेकै बेला गगन संवाद यात्रामा दौडिए । उनी अन्तिम समयमा इलाम पुगेका थिए । कार्यक्रम सकेर फर्कनसाथ अमेरिका हान्निए । अहिले उनी अमेरिकामै छन् ।

यता, बझाङको अवस्था पनि त्यस्तै थियो । चुनावी कमाण्डर बनाएर पठाएका एनपी साउद १५ दिने पाथीभरा दर्शन यात्रामा निस्किए । उनले चुनावी माहोल बनाउन छाडेर पारिवारिक माहोलमा रमाएको बझाङका एक नेताले आरोप लगाए ।

'खाशमा कांग्रेसले बझाङमा चुनाव छ भन्ने नै बिर्सिएको थियो', ती नेताले भने, 'संघीय निर्वाचनको चुनाव भनेर सबै इलाम केन्द्रित बने यहाँ कसैको चासो भएन ।' परिमाण इलाम र बझाङ दुवै कांग्रेसले गुमायो ती नेताले भने ।

बझाङमा आँसु बिकेन 

बझाङमा सिंहलाई टिकट दिने एउटै कारण सहानुभूतिको मतले चुनाव जित्न सकिन्छ भन्ने नेताहरूले अड्कल थियो । तर, सो मत सिंहले पाएनन् ।

'दुर्घटनामा आमाबुबा गुमाएको सहानुभूति त पाए तर मतको सहानुभूति पाएनन्', सुदूरपश्चिमका एक नेताले भने, बझाङमा आँसु बिकेन ।' शोक सधैं बिक्री नहुने ती नेताले बताए । संगठनमा पकड हुनेलाई टिकट नदिँदा यस्तो परिणाम आएको उनले बताए ।

पहिचानवादीले काटे मत

कोशीमा पहिचानको मुद्दा पेचिलो बन्दै गर्दा उपनिर्वाचनमा घाटा कांग्रेसले व्यहोर्नुपर्यो । कांग्रेस नेता शेखर कोइरालाले इलाम पुगेर पहिचानको मुद्दा कांग्रेसले नै पुरा गर्छ भने पनि मतदाताले सो कुरा पत्याएनन् । उनीहरूले पहिचानवादीलाई भरपुर साथ र सहयोग गरे र तेस्रो स्थानको मत दिए ।

कांग्रेसले पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमले एमालेको मत बढी काट्ने अड्कल गरेको थियो । थेगिम एमाले पृष्ठभूमिका थिए । तर, भयो उल्टो। 

थेगिमले चुलाचुली, माङसेबुङफाकफोकथुम गाउँपालिकामा एमालेको मत काटेनन् । कांग्रेस  त्यतिबेला स्तब्ध भयो जतिबेला थेगिमले कांग्रेसको मत काटेको थाहा भयो ।

 


Author

थप समाचार
x