अर्थ / बाणिज्य

पिपुल्स प्लाजा र आरबी कम्प्लेक्सले तिरेनन् बहाल कर

इकागज |
बैशाख २१, २०८१ शुक्रबार १०:५४ बजे

काठमाडौँ- ‘आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’ले काठमाडौँ महानगरपालिकालाई अहिलेसम्म बहाल कर नतिरेको भेटियो । यी दुवै प्लाजा वडा नं. २२ मा छन् । आरबी कम्प्लेक्सले सम्पत्ति कर तिरेकै छैन । पिपुल्स प्लाजाले नियमित ३ आर्थिक वर्षको तिरेको छैन । बहाल कर दुवैले तिरेका छैनन् । 

प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको राजस्व स्थलगत सुपरीवेक्षण तथा अनुगमन टोलीले, कम्प्लेक्स सञ्चालकसँग कर सम्बन्धी विवरण माग यस्तो अवस्था देखिएको हो । यसपछि टोलीले कम्प्लेक्स सञ्चालकलाई ७ दिनभित्र विवरण पेश गर्न र ३५ दिनभित्र वडा कार्यालयमा गएर बक्यौता तिर्न पत्र दियो ।


महानगरपालिकाको राजस्व विभागको ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ मा ३ प्रकारका राजस्व अनुगमन टोलीहरूको व्यवस्था गरिएको छ । एउटा वडा स्तरीय टोली छ । यसमा जनप्रतिनिधि, कर्मचारी, राजस्व विभागका कर्मचारी रहने व्यवस्था छ । अर्को केन्द्रमा राजस्व विभाग स्तरको टोली । यी दुवै टोलीले गरेका कामको अनुगमन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा टोलीको व्यवस्था गरिएको छ । 

अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले कम्प्लेक्स सञ्चालकहरूलाई, घर बहालमा लगाउँदा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारमा बुझाउनुपर्ने कानुनी व्यवस्था भएकाले यसै बमोजिम कर बुझाउन आग्रह गरे । अनुगमनका क्रममा बहाल सम्झौता, कर योग्य सम्पत्ति सम्बन्धी विवरण माग गरिएको थियो । आरबी कम्प्लेक्समा करिब ३१५ व्यवसायी र पिपुल्स प्लाजामा करिब १६० व्यवसायी छन् ।

महानगरपालिकाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिनेबीचका सर्त व्यवस्थापन गर्न ‘बहाल व्यवस्था कार्यविधि’ जारी गरेको छ । यसबमोजिम कम्प्लेक्स सञ्चालकले व्यवसायीसँग सम्झौता गरेर आपसमा एक/एक प्रति लिनु/दिनुपर्छ । एक प्रति वडामा बुझाउनुपर्छ । अनुगमनका क्रममा यस व्यवस्थाको पालना पनि हेरिएको थियो ।


Author

थप समाचार
x