फोटो फिचर

सुनसान बने काठमाडौँका सडक [फोटो फिचर]

अनुज बज्राचार्य |
बैशाख २९, २०७९ बजे

काठमाडौँ - स्थानीय तह निर्वाचनमा सहभागी हुन रोजगारी, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि सहर पसेका नागरिकहरू आ–आफ्नो गाउँ फर्किरहेका छन् ।काठमाडौँको कलङ्की, बालाजु, कोटेश्वर, बल्खु, गौशालालगायत विभिन्न नाकाबाट गाउँ फर्किने क्रम जारी रहेको छ ।


काठमाडौं उपत्यकाबाट मात्र वैशाख २५ देखि २८ गतेसम्म २ लाख ४९ हजार ६६० जना आ-आफ्ना गृहजिल्ला फर्किएका छन् । बुधबारमात्रै ८३ हजार नागरिकले काठमाडौँबाट उपत्यका छाडिसकेको ट्राफिक प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । भित्रिनेको तुलनामा बाहिरिनेको सङ्ख्या झन् धेरै छ । 

पछिल्लो समयमा अधिकांश मतदाता राजनीतिक दलले व्यवस्था गरेको यातायातका साधनबाट गाउँ फर्किएका छन् भने कतिपय भाडाका सवारीसाधन र निजी गाडीमासमेत गइरहेका देखिएका छन् । 

आज राति १२ बजदेखि सवारीसाधन सञ्चालन गर्न नपाउने भएकाले पनि यसअघि जान नपाएका मतदाता आज साँझसम्म फर्किने तरखरमा रहेका छन् ।

निर्वाचनका कारण काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै भएका छन् । उपत्यका भित्रिने सवारी प्राय छैन भने बाहिरिने सवारी साधनको चाप अझै देखिएको छ ।

आज मात्रै सवारी चल्ने भएकाले पनि यसअघि जान नपाएका यात्रु आज राति अबेरसम्म भए पनि गाउँ फर्किने तयारीमा छन् । उपत्यकाभित्र पनि न्यून मात्रामा सवारीसाधन सञ्चालन छ । अघिपछि जाम हुने थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, गौशाला, कलङ्कीलगायतका चोक प्रायः खुला जस्तै रहको छ । 

यातायातका साधन कुनै पनि चोकको जाममा पर्नुपर्ने अवस्था नरहेको सवारी चालकहरूले बताएका छन् । सडकमा ट्राफिक प्रहरी न्यून मात्रामा परिचालन भएका छन् । विभिन्न क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई समेत निर्वाचनमा परिचालन गरिएकाले सडकमा सुरक्षाकर्मीको उपस्थिति कम छ ।

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार