फोटो फिचर

भविष्य निर्धारण गर्ने चुनावका लागि गाउँ फर्कँदै नागरिकहरू [फोटो फिचर]

काठमाडौं – मुलुक स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा छ । शुक्रबार देशका ७ सय ५३ वटा स्थानीय तहका लागि निर्वाचन हुँदैछ । भोलिको निर्वाचनले आगामी पाँच वर्षका लागि वडादेखि गाउँपलिका, नगरपालिकादेखि महानगरपालिका प्रमुख चुन्नेछ र ती प्रमुखले नगरको सुन्दर नक्शा कोर्नेछन् । 


आफ्नो भविष्य निर्धारण गर्ने निर्वाचनमा सहभागी हुन रोजगारी, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि सहर पसेका नागरिकहरु आ–आफ्नो गाउँ फर्किसकेका छन् भने कोही जाने तयारीमा छन् । वसपार्कमा मानिसहरुको भीड छ । आफ्नो नगरका लागि दक्ष र दूरदर्शी प्रतिनिधि छान्न काठमाडौं उपत्यकाबाट मात्र वैशाख २५ देखि २८ गतेसम्म २ लाख ४९ हजार ६६० जना आआफ्ना गृहजिल्ला फर्किएका छन् । 

७७ वटै जिल्लाका मानिस बस्ने यस सहरबाट २५ गतेदेखि २९ गतेसम्म बाहिरिनेको कूल संख्या ३ लाख ५० हजार बढी हुने महानगरीय ट्राफिक महाशाखाले अनुमान गरेको छ । 

महाशाखाले २९ गते उपत्यका छाड्नेको सम्पूर्ण तथ्यांक अहिले प्राप्त भइनसकेको बताएको छ । उसले गरेको अनुमानअनुसार २९ गते एक लाख बढीले काठमाडौं छाड्नेछन् । यसो हुँदा काठमाडौं उपत्यकाबाट निर्वाचनका लागि गृह जिल्ला जानेको संख्या साढे ३ लाख बढी हुनेछ । 

राष्ट्रिय जनगणना २०७८ का अनुसार काठमाडौं उपत्यकामा कूल २९ लाख ९६ हजार ३४१ जनसंख्या छ । तीमध्ये १० लाख ६१ हजार १८३ जना काठमाडौं उपत्यकाका हुन् भने बाँकी १९ लाख ३५ हजार १५८ उपत्यका बाहिरबाट रोजगारी, अध्ययनलगायत विभिन्न प्रयोजनका लागि काठमाडौंमा बस्दै आएका हुन् । 

चुनावका लागि मानिसहरू बाहिरिएसँगै उपत्यका सुनसान बनेको छ । 


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।

थप समाचार